मुस्ताङ भ्रमणमा पुगेका प्रधानमन्त्री दाहालले कोरला नाका र बाढीले क्षतिग्रस्त कागबेनीको हवाई निरीक्षण गर्ने

बुधबार, ०१ कार्तिक २०८०, ०९ : २८

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुस्ताङ पुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप ०ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन  दाहाल मुस्ताङ गएका हुन ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम गएका प्रधानमन्त्री दाहाल कोरला नाका, गत साउनको बाढीले क्षति पुगेको कागबेनी लगायत क्षेत्रको अनुगमनमा गएको मुस्ताङबाट प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिएका छन्। 

प्रधानमन्त्री दाहालले मुस्ताङ भ्रमणका क्रममा कोरला नाका र गत साउनको बाढीले क्षति पुगेको कागबेनीको हवाई निरीक्षण गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले हालै गर्नुभएको चीन भ्रमणका क्रममा मुस्ताङको कोरलालगायत १४ वटा व्यापारिक नाका सञ्चालन गर्ने सहमति भएको थियो।

चार वर्षदेखि बन्द रहेको कोरला नाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर  दामोदर कुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई चीन प्रवेशका लागि अनुमतिपत्र वितरण गरिएको छ । प्रधानमन्त्री दाहालसमक्ष स्थानीयवासीले काली गण्डकी नदीको कटान, उपल्लो मुस्ताङको पाँच वटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्याबारे छलफल गर्ने कार्यक्रम तय गरिएको  (माओवादी केन्द्र) मुस्ताङका इन्चार्ज कपिल लामाले बताएका छन् । 

प्रधानमन्त्री दाहालसँगै वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतो, गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशीला सिम्खडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेसमबहादुर जुगजाली, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल मुस्ताङमा पुगेका हुन  । 

जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री दाहालले आजै जोमसोममा ‘जनतासँग माओवादी रूपान्तरण अभियान’अन्तर्गत आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने स्रोतको भनाई छ ।  
 

बुधबार, ०१ कार्तिक २०८०, ०९ : २८

प्रतिक्रिया