अर्थतन्त्र सङ्कटमुक्त भए पनि दबाबमुक्त हुन सकेको छैन: प्रधानमन्त्री ‘प्रचण्ड’

विहीबार, १६ कार्तिक २०८०, ०७ : ४२

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सङ्कटमुक्त भएको तर दबाबमुक्त हुन नसकेको बताउनुभएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताउनुभएको हो। 

प्रधानमन्त्रीले भन्नुभयो,“हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो। तर, सरकारको मेहनतका कारण अर्थतन्त्र सङ्कटमुक्त भएको छ। विदेशी मुद्राको सञ्चिति, राजस्व सङ्कलन र परिचालन, पर्यटक आगमन, विप्रेषणलगायत क्षेत्रका सूचक हेर्दा हामी प्रगति तिरै छौँ।”

अर्थतन्त्र अझै पनि दबाबमुक्त भई नसकेको उल्लेख गर्दै उहाँले अर्थतन्त्रको दबाब हटाउने विषय सबैभन्दा ठुलो कार्यभार हुन आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दबाब हट्दैन भन्ने मलाई राम्रोसँग हेक्का छ। तसर्थ, छिट्टै नेपाल सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत् बैठकको आयोजना गर्छौँ।”

नेपालको बजेट बनाउने प्रणाली र प्रक्रियाले अर्थतन्त्रलाई सहयोग नगरेको जनाउँदै उहाँले परम्परागत ढङ्गले बनाइने नीति, कार्यक्रम र बजेटले देशको समस्या सम्बोधन गर्न नसक्ने बताउनुभयो। प्रधानमन्त्री दाहालले भन्नुभयो, “नीति कार्यक्रम पेस गरेपछि संशोधन नै नहुने, बजेट प्रस्तुत भएपछि रातो किताब हेरफेर नै नहुने हाम्रो प्रणाली र तरिका गलत छ।”

विहीबार, १६ कार्तिक २०८०, ०७ : ४२

प्रतिक्रिया