मौद्रिक क्षेत्र तथा बाह्य क्षेत्रमा सुधारका सङ्केत देखिएका छन्: प्रधानमन्त्री

५ महिना अगाडि

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको अवस्था प्रचार भएजस्तो खराब नभएको र पुरापुर ठिक समेत नरहेको बताएका छन् ।  

नेपालको अर्थतन्त्रको विद्यमान अवस्था र भावी कार्यदिशा’ शीर्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्रका चार वटै क्षेत्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । 

प्रधानमन्त्रीले वास्तविक क्षेत्र, सार्वजनिक क्षेत्र, मौद्रिक क्षेत्र तथा बाह्य क्षेत्रमा सुधारका सङ्केत देखिन थालेका बताएका  हुन। “मैले पनि अर्थतन्त्रको पुनरुत्थानको लागि नियमित रुपमा निर्देश गरिरहेको छु। हामीले प्रतिकूल समय पार गरिसकेका छौँ । बिस्तारै अर्थतन्त्रका समष्टिगत आर्थिक परिसूचकमा सुधारका सङ्केत देखिन थालेका छन्”, प्रधानमन्त्रीले भने –“अर्थतन्त्रको अहिलेको अवस्थाबारे हामी जानकार नै छौ।

हामीले आशा गरेजस्तो अवस्थामा नरहेका साँचो हो तर  म स्वयं पनि उद्योगी, व्यवसायी, आयात निर्यातकर्ता, निर्माण व्यवसायी, यस क्षेत्रका विज्ञलगायत विभिन्न सरोकारवाला पेसाकर्मीसँग निरन्तर अन्तरक्रियामा छु यस कारण पनि हाम्रो अर्थतन्त्रको अवस्था धाराशायी छन् भन्न मिल्दैन ।

बाह्य क्षेत्रको अहिलेको अवस्था हालसम्मकै सबैभन्दा मजबुत देखिएको बताउँदै प्रधानमन्त्रीले पर्यटन आवागमनमा ३० प्रतिशतले वृद्धि भएको, विदेशी लगानी आप्रवाह वृद्धि भएको, शोधनान्तर बचतमा सुधार भएको, वैदेशिक मुद्रा सञ्चिति उच्च विन्दुमा पुगेको, बैंक वित्तीय क्षेत्र पनि सबल रहेको जानकारी दिएका छन्।

सरकारी क्षेत्रमा पहिलेको तुलनामा पुँजीगत खर्च वृद्धि हुँदै गइरहेको छ भने चालु खर्च घटाउन सरकार निरन्तर प्रयत्नशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले लक्षित आर्थिक वृद्धि हासिल गर्नमा सघाउ पुग्ने अपेक्षा गरिएको बताएका छन्। अर्थतन्त्रले केही गति लिएको भए पनि हाम्रा विकासका आकाङ्क्षाको तुलनामा हामीले गरेका प्रयासका बाबजुद पनि अझै माग र आपूर्तिबिच खाडल रहेको प्रधानमन्त्री दाहालको भनाई छ ।  

देश चुनौतीरहित अवस्थामा नरहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले लघुवित्त तथा बचत तथा ऋण सहकारी क्षेत्रमा समस्या देखिएकाले त्यसको समयमै उचित सम्बोधन हुन जरुरी भएको बताएका हुन। निजी क्षेत्रले बजारमा वस्तु तथा सेवाको माग सिर्जना कम भयो, व्यावसायिक गतिविधि चलायमान भएन, ऋणको साँवा ब्याज तिर्ने समय लचिलो नहुँदा धेरै साथीहरु विचलित भए, बैंकको ब्याजदर पनि बढी भयो र अर्थतन्त्र शिथिल भयो भनेर पटक पटक टिप्पणी गरेको सन्दर्भ जोड्दै प्रधानमन्त्रीले भने “यसका कारण के हुन् यसको समयमै खोजी गर्नुपर्ने अवस्था छ । कारणको खोजी मात्र होइन उचित सम्बोधन पनि गर्नुपर्छ ।”

५ महिना अगाडि

प्रतिक्रिया