साताभरमा सामान्य नेप्सेको अवस्था कस्तो रह्यो, साताको समीक्षा

शनिबार, ०९ मंसिर २०८०, ०८ : ०७

काठमाडौँ । तिहार पछिको पहिलो साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। यस साता फ्लोट इण्डेक्स ०.४१ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंक घटेको छ।

तिहार अघि १८५२.०८ विन्दुमा बन्द भएको नेप्से, यस साता ८.१२ प्रतिशत बढेर १८६०.२० विन्दुमा पुगेको छ। यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन नेप्से घटेको थियो। 

नेप्से बढेसँगै यस साता कारोबार रकम पनि बढेको छ। तिहार अघिको अन्तिम साता दैनिक औषतमा ९१ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब १२ करोडको शेयर खरिदबिक्री भएको छ।

 अघिल्लो साताको तुलनामा गत साता दैनिक औषत कारोबार रकम २३.८६ प्रतिशत बढेको हो। त्यसै गरी, यस साता दैनिक औषत कारोबार संख्या १७.६१ प्रतिशत बढेको छ भने दैनिक औषत शेयर संख्या १२.०४ प्रतिशत बढेको छ।

यस साता १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.३३ प्रतिशत बढेको छ। अंकका आधारमा पनि सोही उपसमूहको परिसूचक सर्वाधिक ४१९.५८ अंक बढेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८६ प्रतिशत घटेको छ। 

यस साता नेप्सेमा माछापुच्छ्रे बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक २३.४५ प्रतिशत बढेको छ। त्यसै गरी, यस साता हाथवे इन्भष्टमेन्टको शेयर मूल्य १७ प्रतिशत बढेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर मूल्य करिब १७ प्रतिशत बढेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता कर्पोरेट डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक मञ्जुश्री फाइनान्स लगायतका स्टकहरू मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छ भने जनउत्थान सामुदायिक लघुवित्त, सयपत्री हाइड्रोपावर, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लगायतका स्टकहरू मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

शनिबार, ०९ मंसिर २०८०, ०८ : ०७

प्रतिक्रिया