काठमाडौँ - बागमती प्रदेश सरकारको लगानीमा हेटौँडामा पाउडर (धुलो) दुध उत्पादन उद्योग स्थापना भएको छ । प्रदेश सरकारले ३ वर्ष लगाएर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्यूरेनीस्थित सिसौघारीमा धुलो दुध तथा बटर उद्योग स्थापना गरेको हो ।
किसानले उत्पादन गरेको दुध विभिन्न कारणले सडकमा फाल्नुपर्ने समस्या झेल्दै आएको बखत प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले पाउडर प्लान्ट निर्माण कार्य अघि बढाएको थियो । एक वर्षमा निर्माण कार्य सक्नेगरी प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डको लगानीमा उद्योग निर्माण गरिएको हो ।
पाउडर प्लान्ट निर्माणका लागि २०७७ पुस १ गते इजी इन्फा प्रालि काठमाडौँले निर्माण सम्झौता गरी निर्माणको शिलान्यास गरिएको उक्त उद्योगको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । संघीय सरकार मातहतको दुग्ध विकास आयोजनाको पशु आहार उत्पादन उद्योगको २ बिघा क्षेत्रफलमा जग्गामा पाउडर प्लान्ट स्थापना गरिएको हो । हाल उद्योगमा जडान गरिएको मेसिनरी औजार तथा उपकरण परीक्षणको काम भइरहेको छ भने भौतिक संरचना निर्माण लगायतको काम लगभग सकिएको छ । उद्योग परिसरलाई व्यवस्थित गर्ने र चिस्यान केन्द्र ९कोल्ड रुम० सञ्चालनको काम मात्र बाँकी छ ।
किसानले उत्पादन गरेको दुध नबिकेर ‘मिल्क होलीडे’ गर्नुपर्ने बाध्यता हटाउने उद्देश्यले स्थापना गरिएको उद्योगमा धुलो दुध उत्पादन परीक्षण, हस्तान्तरण र अन्य व्यवस्थापकीय काम गर्न भने बाँकी नै छ । आवश्यक भौतिक निर्माण र उपकरण जडान सकिएसँगै कारखानामा पानीको प्रयोगबाट परीक्षण थालिएको उद्योग निर्माण कम्पनी इजी इन्फ्रा प्रालिका म्यानेजर उत्तम पौडेलले जानकारी दिए । उनले केही दिनमै धुलो दुध उत्पादन परीक्षण गरेर हस्तान्तरण गर्ने बताए ।
बोर्डका अनुसार ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको सो उद्योगको लागत बढेर ४७ करोड पुगेको छ । प्लान्ट सञ्चालनमा आएपछि कृषकहरूबाट दुध संकलन गरी प्रशोधन गरेर पाउडर दुधसँगै घिउ तथा अन्य दुग्धजन्य पदार्थ उत्पादन गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया