सर्वोत्तम सिमेन्टको शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम मौका

५ महिना अगाडि

काठमाडौँ । पहिलो पटक बुक बिल्डिङ प्रक्रिया मार्फत सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको शेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने आज  अन्तिम दिन रहेको छ। 

कम्पनीले मङ्सिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरूका लागि शेयर निष्काशन गरेको थियो। कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो। 

सोमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता शेयरका लागि सुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ रहेको रहेकोलाई परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ कायम रहेको कम्पनीको जानकारी छ।

कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरू सहभागी गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रही बोलकबोल मार्फत शेयर बिक्री गर्न लागेको हो।कम्पनीको धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलीपल्ट धितो पत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरूलाई निष्काशित धितो पत्र पूर्ण रूपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ। 

कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई माग बमोजिमको धितो पत्र कटअफ मूल्यमा बाँडफाँट गरिनेछ। कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितो पत्र नगरिने कम्पनी जनाएको छ।

कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ। सो उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ। 
 

५ महिना अगाडि

प्रतिक्रिया