काठमाडौँ । लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न औद्योगिक व्यवसाय ऐन केन्द्रित हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घले बागमती प्रदेश सरकारको औद्योगिक व्यवसाय ऐनलाई समयसापेक्ष परिमार्जनका लागि सुझाव दिन मङ्गलवार आयोजना गरेको नीतिगत संवादका वक्ताले आत्मनिर्भर अर्थतन्त्र निर्माण र व्यापार घाटा न्यूनीकरण गर्न सघाउने लघु घरेलु तथा साना उद्योगलाई पनि कृषि क्षेत्रजस्तै प्राथमिकता प्राप्त क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने बताएका छन् ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले लघु घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन र विकास गरेर ठुला उद्योगमा रूपान्तरण गर्नुपर्ने बताए थिए। उद्योगधन्दा नभई रोजगारी विस्तार नहुने भन्दै उनले उद्योग सम्बन्धी ऐन बनाउँदा सरलीकरण गर्नुपर्ने बताए ।
उत्पादनमा भन्दा आयातमा केन्द्रित हुँदा साना उद्योग फस्टाउन नसकेको मन्त्री लामाले बताए । साना उद्योगलाई सरकारले सुरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउन मन्त्रालय सकारात्मक रहेको उनको भनाइ छ ।
महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले औद्योगिक व्यवसाय ऐनमार्फत लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न सके मात्र समृद्ध अर्थतन्त्रको निर्माणमा सहयोग पुग्ने बताएका छन् । सार्वजनिक निकायमा सम्भव भएसम्म स्वदेशी वस्तुको प्रयोगलाई अनिवार्य गर्न नसकिएको भन्दै उहाँले व्यावसायिक रूपमा निजी क्षेत्रबाट सञ्चालन हुने भर्चुअल मार्केट प्लेसको विकासले साना उद्योग प्रवद्र्धमा सघाउने उनको भनाइ थियो ।
प्रतिक्रिया