आर्थिक क्षेत्रको सुधार गर्दा राज्य र उपभोक्तालाई मार पर्नु हुदैन : सचिव दुवाडी

५ महिना अगाडि

काठमाडौं । वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीले राज्यलाई भार नपर्ने र उपभोक्तालाई मार नहुने गरी सुधार गर्नुपर्ने बताएका छन् ।

सचिव दुवाडीले मुलुकको आर्थिक क्षेत्रमा सहज वातावरण निर्माणको लागि सरकार कटिबद्ध रहेको उल्लेख गर्दै यस्तो सुधारका क्रममा राज्यमाथि अतिरिक्त व्ययभार हुन नहुने 
 र उपभोक्तामाथि अन्याय पनि गर्न नमिल्ने बताएका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघको प्रतिनिधिमण्डलसँग मङ्गलवार भएको भेटमा सचिव दुवाडीले भने, “राज्य कोषमा भार नपर्ने तथा जनताले पाउने सुविधामा कटौती नगरी सबै खाले सुधार गर्न सरकार तयार छ।” उद्योगी व्यवसायीको पीरमर्का बुझ्ने माथिल्लो निकाय भनेकै आफ्नो मन्त्रालय रहेको उल्लेख गर्दै सचिव दुवाडीले देशमा व्यवसाय गर्ने वातावरण छ भन्ने अवस्था सिर्जनाका लागि आफूले काम गर्ने प्रतिबद्धता जनाए ।

संस्थागत सुशासनको क्षेत्रमा सुधार गर्ने तथा जनतासँग जोडिएका विषयमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै सचिव दुवाडीले ग्यास उद्योगीले मापदण्डअनुसार ग्यास सिलिण्डरको गुणस्तर कायम राख्न तथा निर्धारित तौलअनुसारका ग्यास मात्र बिक्री गर्नुपर्ने बताए ।

भेटमा एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले आगलागीजस्ता घटनामा कुनै अध्ययन अनुसन्धान नगरी ग्यास सिलिण्डरका कारण दुर्घटना भएको भन्नेजस्ता अफवाह फैलाइने गरिएका कारण बिमामा समस्या हुन थालेको बताए । अध्यक्ष घिमिरेले आगलागीका घटनापछि बिमाको लोभमा सिलिण्डर पड्किएर भन्ने कागजात बनाउन प्रहरी र स्थानीय जनप्रतिनिधिको मिलेमतो देखिएको भन्दै यस्तो विकृति नियन्त्रण गर्नुपर्ने बताए ।
 

५ महिना अगाडि

प्रतिक्रिया