साताभर कस्तो रह्यो सुनचाँदीको कारोबार (एक समीक्षा)

शनिबार, २३ मंसिर २०८०, ०९ : ४३

काठमाडौँ । यस साता सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। सुनचाँदीको कारोबार अत्यधिक हुने मङ्सिर महिना लागेसँगै सुनको भाउले एकपछि अर्को रेकर्ड बनाइरहेको छ। 

साता भरमा भएको कारोबार मध्यमा सोमबार सुन प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो जुन मूल्य आजसम्मकै उच्च हो।  साताभरमा भएको कारोबारको तुलनामा भने सुनको भाउमा गिरावट देखिएको छ। लगातार ऐतिहासिक उचाइमा पुगेको सुन यस साता केही सस्तिएको थियो । यस साता सुन तोलामा २ हजार रुपैयाँले घटेको सुनचाँदी महासङ्घको आकडामा उल्लेख छ । 

साताको पहिलो दिन, आइतबार सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य साताको दोस्रो दिन, सोमबार रेकर्डमाथि अर्को रेकर्ड थप्दै एक लाख २१ हजार ६०० रुपैयाँमा पुग्यो। 

 उच्च विन्दुमा खरिदबिक्री भइरहेको सुन मङ्गलवार र बुधवार भने घट्यो । जुन बिहीबार र शुक्रवार सामान्य वृद्धि भएको पाइएको महासङ्घको तथ्याङ्कमा उल्लेख छ । शुक्रवार प्रतितोला एक लाख १८ हजार ८०० कायम भयो । जुन साताको पहिलो दिनको तुलनामा २ हजार रुपैयाँले कम हो । यसै गरी, यो साता नेपाली बजारमा चाँदीले पनि उच्च रेकर्ड कायम गर्‍यो ।

आइतबार रेकर्ड राख्दै एक हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रवार एक हजार ४६० रुपैयाँ कायम भयो । यो साता पनि विश्व बजारमा सुनको मूल्यले पनि उच्च रेकर्ड कायम गरेको छ ।

विश्व बजारमा उत्पन्न द्धन्दको प्रभाव, अमेरिकी रिजर्भ बैंक फेडले गरेको नीतिगत परिवर्तन र डलरको मूल्यमा परेको चाप लगायतका कारण सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको विश्लेषकहरूले बताएका छन्।
 

शनिबार, २३ मंसिर २०८०, ०९ : ४३

प्रतिक्रिया