अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव सञ्चालन हुने

शनिबार, १४ पुस २०८०, ०८ : ४८

काठमाडौं-  अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्न काठमाण्डौको प्रमुख पर्यटकीय नगरी ठमेलमा बजारमा सडक महोत्सव गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा भोलि बेलुकी ठमेलमा सडक महोत्सव हुन लागेको हो । यसले कोरोनाबाट असर पुगेको ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा लिएको आयोजकको भनाई छ ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलको पर्यटन क्षेत्रको विकासका लागि ठमेलमा रहेको सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएका छन्। ‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ भन्ने नाराकासाथ सडक महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। ठमेलमा आयोजना हुन लागेको सडक महोत्सवमा एक लाख ८० हजार जनाको सहभागिता रहने परिषद्को अनुमान छ ।

ठमेल सडक महोत्सवलाई सुरक्षित रुपमा सम्पन्न गर्न नेपाल प्रहरीसँग सुरक्षा व्यवस्थापन र ट्राफिक प्रहरीसँग ट्राफिक व्यवस्थापका बारेमा छलफल भइसकेको अध्यक्ष शर्माको भनाई छ। विगतको तुलनामा यसवर्ष ठमेलभित्रका हरेक चोकमा सीसी क्यामरा जडान गरिएकाले ढुक्क भएर ठमेलमा घुम्न र मनोरञ्जन लिन परिषद्ले सबैलाई आग्रह गरेको छ ।

सडक महोत्सव सम्पन्न गर्न २२ लाख रुपैयाँको हाराहारीमा खर्च हुने परिषद्का अध्यक्ष शर्माको भनाई छ। नेपाल आएका पर्यटकमध्ये झण्डै ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेको परिषद्ले जनाएको छ । ठमेलभित्र झण्डै दुई हजार व्यवसायी तथा घरधनी रहेका छन् । ठमेल पर्यटन विकास परिषद्का महासचिव राजीव पाण्डेले ठमेल क्षेत्रलाई २४सै घण्टा सञ्चालन गर्ने वातावरण निर्माणका लागि परिषद्ले विभिन्न निकायसँग छलफल गरिरहेको जानकारी दिएका छन्। 
 

शनिबार, १४ पुस २०८०, ०८ : ४८

प्रतिक्रिया