विकास ऋणपत्र मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल गरिने

३ महिना अगाडि

काठमाडौंः  नेपाल सरकारले विकास ऋणपत्र मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेको हो।

केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँको ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘छ’ जारी गर्न लागेको हो । यस ऋणपत्रका लागि आज (आइतबार) पुस २२ गते दिउँसो २ बजे बोलकबोल हुने भएको छ । यसको निष्कासन मिति भने पुस २३ गते तोकिएको छ । 

ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख  गरिएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ । 

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ । 

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् ।

३ महिना अगाडि

प्रतिक्रिया