काठमाडौं– सांसदहरुले राष्ट्रिय योजना आयोगको भूमिका स्पष्ट हुन आवश्यक रहेको बताएका छन्।
सांसदहरुले आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले योजना आयोगसँग आगामी १६औं योजनाको विषय गरेको छलफलमा सांसदहरुले योजना आयोगको भूमिका माथि प्रश्न उठाएका हुन्।
योजनाआयोगले सरकारले राम्रो काम गरिरहेको र अर्थतन्त्र सकारात्मक रहेको भन्दै झुटो बोलेर सरकारको रक्षा गरेको आरोपसमेत सांसदहरुले छलफलका क्रममा लगाए । झुटको जगबाट भविष्यको मार्गचित्र कोर्न नसकिने भन्दै योजना आयोगले यथार्थको जगमा टेकेर आगामी १६औं योजना बनाउन आवश्यक रहेको सांसदहरुले बताए।
छलफलमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको बेलामा पनि सुतेर बसेको आरोप लगाए।
नेपाली कांग्रेसका सांसद विनोद चौधरीले विकास योजनाहरुको कार्यान्वयनमा योजना आयोगको भुमिका माथि प्रश्न उठाए। उनले योजना आयोगले बनाएको १५औं योजना लक्ष्यअनुसार कार्यान्वयन गर्न नसक्ने आयोगको औचित्य नभएको उल्लेख गरे।
उनले विकास निर्माणको काम नभएर विकास बजेट खर्च नहुँदा प्रधानमन्त्री कार्यालयले अनुगमन गर्ने प्रधानमन्त्रीबाटै प्रतिबद्धता जनाउँदा समेत योजना आयोगको भूमिका नदेखिएको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपालको योजना व्यवहारिक नभएको बताए। उनले आयोगले आगामी १६औं योजनामा सूचना र प्रविधिलाई नछोएको पनि बताए।
प्रतिक्रिया