राष्ट्रिय सभा निर्वाचन: आज उम्मेदवारहरुको नामावली प्रकाशन गरिने

विहीबार, २६ पुस २०८०, ०७ : ४५

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरुको नामावली आज (बिहीबार) प्रकाशन हुने भएको छ। 

निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसार आज उम्मेदरहरुको नामावली प्रकाशन गर्न लागिएको हो । उम्मेदवारी दिएकाहरुको बुधबार नै उम्मेदवारविरुद्ध परेका उजुरी उपर जाँचबुझ गरी निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ। 

मनोनयपत्र दर्ता भएका उम्मेदवारको मननोयनपत्र तथा उजुरी उपर जाँचबुझ भएपछि बिहीबार नामावली प्रकाशन गरिने भएको हो। त्यसपछि आयोगले उम्मेदवारहरुलाई नाम फिर्ताको समय दिनेछ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगको निर्धारण गरेको कार्यतालिकाअनुसार शुक्रबार उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। यस्तै, शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।  

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए। राष्ट्रिय सभाका १९ जना सदस्यका लागि माघ ११ गते हुने निर्वाचनका लागि सोमबार ७ प्रदेशबाट ५२ जनाले उम्मेदवारी दिएका थिए। 

राष्ट्रिय सभा सदस्य पदका लागि कोशी प्रदेशमा २ सिटका लागि ५ जना, मधेस प्रदेशका २ सिटका लागि ५ जना र बागमती प्रदेशमा ४ सिटका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। यस्तै, गण्डकी प्रदेशमा ३ सिटका लागि ८ जना, लुम्बिनी प्रदेशमा २ सिटका लागि ७ जना, कर्णाली प्रदेशमा ३ सिटका लागि ६ जना र सुदूरपश्चिम प्रदेशमा ३ सिटका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। 
 

विहीबार, २६ पुस २०८०, ०७ : ४५

प्रतिक्रिया