बागमती प्रदेशले दुर्गम क्षत्रे विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता उपलव्ध गराउने

३ महिना अगाडि

काठमाडौँ-  बागमती प्रदेश सरकारले दुर्गम तथा विकट क्षेत्रमा स्वास्थ्य उपचार सेवा पुर्‍याउन चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको गत पुस २२ गते बसेको मन्त्रिपरिषद्ले दुर्गम क्षेत्रमा स्वास्थ्य उपचार सेवा प्रदान गर्न डाक्टर तथा स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

उक्त कार्यक्रम संचालनको लागि स्वास्थ्य मन्त्रालयले निर्माण गरेको कार्यविधि समेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । २२ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतको दुर्गम क्षत्रे विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालन सम्बन्धी कार्यविधि २०८० लाई स्वीकृत गरेको हो । प्रदेशका नागरिकलाई प्रादेशिक अस्पतालहरूबाट गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता प्रदान गर्ने गरी कार्यक्रम कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ ।


प्रादेशिक अस्पतालमा गएर काम गर्न प्रोत्साहित गर्न र स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन उक्त निर्णयले महत्त्वपूर्ण साबित हुने मन्त्रालयको विश्वास रहेको छ । मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालका अनुसार स्वास्थ्यकर्मीलाई प्रोत्साहन उपलब्ध गराउने निर्णयले प्रादेशिक अस्पतालको सेवा स्थायित्व कायम राख्न र स्वास्थ्य सेवा प्रवाहमा थप जिम्मेवार बनाउन भूमिका खेल्ने छ ।

विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन सहित गाउँमा पठाएर सेवा प्रवाहलाई स्तरीय बनाउनु सो निर्णयको उद्धेश्य रहेको उनले बताए । उनका अनुसार सो कार्यक्रम प्रदेशको काठमाडौँ उपत्यकाका बाहेकका १० जिल्लामा सञ्चालन गरिने छ । हालका लागि काठमाडौँ उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सो कार्यक्रम लागु नहुने उनको भनाई छ । दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम लागु भएका प्रदेशका अस्पतालका विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन सुविधा बापत भत्ता प्रदान गरिने छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि सो कार्यक्रम कार्यान्वयन गर्न ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  

विशेषज्ञ चिकित्सकले प्रदेशका अस्पतालबाट सेवा प्रदान गरेको आधार दाबी पश्चात् भत्ता बापतको रकम निकासा हुनेछ । विशेषज्ञ चिकित्सक प्रोत्साहन सुविधाको दर भने फरक फरक रहने छ । भौगोलिक अवस्थिति र न्यूनतम सेवा मापदण्डको आधारमा प्रोत्साहन सुविधाको दर निर्धारण गरिने छ ।

कार्यविधि अनुसार सो कार्यक्रम कार्यान्वयनका लागि १० जिल्लालाई ३ वर्गमा विभाजन गरी प्रोत्साहन भत्ताको दर निर्धारण गरिएको छ । जसमा रसुवा, दोलखा र रामेछाप एउटा वर्गमा रहेका छन् भने नुवाकोट, सिन्धुली, धादिङ, काभ्रे अर्को र सिन्धुपाल्चोक, चितवन र मकवानपुरको अर्को वर्गमा रहेका छन् ।

कार्यविधि अनुसार महिनाको २६ कार्य दिन हाजिर भई कामकाज गरेका विशेषज्ञ चिकित्सकलाई शत प्रतिशत प्रोत्साहन भत्ताको सुविधा उपलब्ध गराइने छ भने २६ कार्य दिन भन्दा कम हाजिर भई कामकाज गरेमा प्रतिदिन ३.५ प्रतिशतका दरले प्रोत्साहन भत्ता कट्टा गरेर रकम प्रदान गरिने छ । १५ कार्य दिन भन्दा कम हाजिर भई कामकाज गरेका विशेषज्ञ चिकित्सकलाई कार्यविधि अनुसारमा प्रोत्साहन सुविधा उपलब्ध नहुने व्यवस्था गरिएको छ । 

३ महिना अगाडि

प्रतिक्रिया