बाबुराम किन गए उपेन्द्र यादवको कार्यकर्ता बन्न ?

४ बर्ष अगाडि

 काठमाडौं – कुनै समय नेकपा (माओवादी) का तत्कालीन नेता डा बाबुराम भट्टराई हुँदा खाँदाको पार्टीलाई धमिरा लागेको घर भन्दै पार्टी छाडेर हिडे । उनले माओवादीलाई ढल्न लागेको घरको संज्ञा दिए । ३० वर्ष भन्दा पनि सहकार्य गरेका पार्टी अध्यक्ष प्रचण्डलाई तथानाम गाली गर्दै पार्टी नै छाडे । उनीसँगै माओवादीका केही नेता तथा कार्यकर्ता समेत लिएर हिडे । उनले नयाँ शक्ति बनाउने भन्दै रंगशालामा ठूलै चमत्कार नै गर्न लागेको जस्तो अभिव्यक्ति पनि दिए । पार्टीमा पहिलो व्यक्ति बन्न नसक्ने विशेष क्षमता भएका डा भट्टराईको नयाँ शक्तिको हविगत चार वर्ष पुग्दा नपुग्दै सतहमा देखियो । 

गत स्थानीय तहको निर्वाचनमा उनको पार्टी सिलो खोज्नुपर्ने अवस्थामा पुग्यो । कही कतै पनि उनको पार्टीले जित निकाल्न सकेन । केवल माओवादीलाई हराउन मात्र उनी सहयोगी देखिए । स्थानीय तहको निर्वाचन पछि लगत्तै  भएको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसको वैशाखी टेकेर गोरखा क्षेत्र नं २ बाट निर्वाचन जिते । माओवादीका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई पर्यटक उम्मेदार भएको प्रचार गराएर भए भरको सबै शक्ति प्रयोग गरेर भट्टराईले सिंगै एक सिट जिते । 

नयाँ शक्तिबाट माओवादीमा फर्केका धेरै उम्मेदवारले जीत निकाले । कारण पार्टी भनेको विचार हो भन्ने कुरा बाबुरामले थाहा पाउन नसक्दा उनको नयाँ शक्ति नयाँ हुन नपाउँदै ओइलाएर गयो ।  नयाँ शक्ति बनाउने भन्दै बाबुरामलाई उचाल्ने मुमाराम खनालले साथ छाडे । जीवनभर काँग्रेसमा रहेका रामेश्वर खनालले समेत उनलाई छाडे । हिरोइन करिश्मा र पत्नी हिसिला भन्दा उनको साथमा रहने राजनीतिक नेतृत्व र कार्यकर्ता फेला पार्न मुस्किल भयो । 

माओवादीलाई मक्किएको घर भनेर आरोप लगाएर दौडन उनलाई जे जति सजिलो भएको थियो । पार्टीको पहिलो तहको नेता बनेर राजनीति गर्न उनलाई सहज थिएन । उनलाई लामो समय संगत गरेका तत्कालीन माओवादीका नेताहरु भन्छन् उनी प्रचण्डलाई दंग्याएर, धम्क्याएर  राजनीति गर्ने स्वभावका थिए । तर पार्टीको पहिलो व्यक्ति बनेर पार्टी चलाउन सक्ने खालका थिएनन् । नयाँ शक्ति भन्दै उनलाई साथ दिन आएका पूर्व भ्रष्ट कर्मचारी, पूर्व प्रहरी कर्मचारी तथा आफूलाई सामाजिक अभियन्ता बताउनेहरु पनि क्रमशः उनलाई छाड्दै हिडे । पूर्व माओवादी जति माओवादीमा फर्कि र हाल नेकपाको नेता तथा कार्यकर्ताको रुपमा क्रियाशिल छन् ।

उनलाई साथ दिँदै आएका खिमलाल भट्टराईहरु पनि माओवादीमा फर्किए र हाल नेकपामा नै छन् ।  बाबुरामको साथमा हिसिला र गंगानारायण श्रेष्ठ बाहेक अरु कोही पनि बाँकी भएनन् ।  माक्र्सवाद सकिएको र कम्युनिस्टको राजनीतिक चिन्तन हराएको जस्ता थेतरो आरोप लगाउँदै नयाँ शक्ति बनाउने भन्दै रुजबेल्टले जस्तो गर्न खोजेका बाबुराम अब यो पाराले नहुने भयो भन्ने लागेपछि गौर काण्डका प्रमुख मतियारको रुपमा रहेका उपेन्द्र यादवको पार्टीको कार्यकर्ता बन्न तयार भए । जसको कारण बाबुरामको नाम मात्रको नयाँ शक्ति र पार्टीको रुपमा स्थापित संघीय समाजवादी फोरमबीच पार्टी एकता भएको राजनीतिक जानकारहरुको भनाइ छ । 

भारतको राजधानी नयाँ दिल्लीमा उदाएको आम आदमी पार्टीको सिको गर्न खोजेका बाबुरामको सुरक्षित अवतरण उपेन्द्र यादवले गराइदिएका छन् । संसदमा उनको कुरा कोही कसैले सुन्ने अवस्था थिएन । उनलाई नेता बन्नु परेको थियो । सोही कारण उपेन्द्र यादवको कार्यकर्ता नै सही , उनी पार्टी नयाँ भएको जस्तो देखाएर पार्टी एकताको नाटक गर्न पुगेको जानकारहरु बताउँछन् । पूर्व प्रधानमन्त्री, राजनीतिक रुपमा स्थापित व्यक्तित्व । नयाँ शक्तिले कुनै चमत्कार गर्न नसकेपछि जसरी भएपनि राजनीति गर्ने मेसोका साथ उपेन्द्रको कार्यकर्ता बन्न पुगेका हुन् । कुनैसमय उपेन्द्र बाबुरामका कार्यकर्ता थिए । मति बिग्रेपछि कसको के लाग्दो रहेछ र ? समय क्रमले उनलाई पहिलो व्यक्ति बनेर पार्टी चलाउन नसकिने अवस्थामा पु¥याइदियो । विगतमा पनि प्रचण्ड भन्दा तल बसेर सधै बार्गेनिङ मात्रै गर्दै आएका उनलाई उपेन्द्रले कसरी झेल्लान् त्यो भने इतिहासले पुष्टि गर्ला । तर ३० वर्षसम्म झेलेका प्रचण्डले त अन्तिममा सकेनन्, उपेन्द्रले कसरी सक्लान् त्यो प्रश्न भने संगीन बनेर उभिएको छ ।  

जानकारहरुका अनुसार नेकपाको सरकारलाई काउन्टर दिने र देशलाई अस्थिर बनाउने रणनीतिक उद्देश्यका साथ दक्षिणले उपेन्द्र र बाबुरामको गठजोड गरिदिएको बताइन्छ । चेक एण्ड ब्यालेन्स शास्त्र अनुसार नै भारतले उनीहरुलाई एकै ठाँउमा ल्याइदिएको बताइन्छ । पार्टी एकता घोषणासभामा उपस्थित नेपाली काँग्रेसका नेता दमननाथ ढुंगानाको भनाइले पनि सोही कुराको पुष्टि गर्छ । विदेशी मित्रहरुको सदासयता पनि तपाईहरु मिल्नुस भन्ने थियो । उनीहरु तपाईहरु मिलेको हेर्न चाहेका थिए , त्यो कुरा तपाईहरु दुवैलाई थाहा थियो भनेर ढुंगानाले बाबुराम र उपेन्द्रलाई सार्वजनिक समारोहमा नै भनेको कुराले पनि उनीहरुको खास निर्देशक को थिए भन्ने स्पष्ट पार्दछ । बाबुरामको नाम लिएर जनयुद्धमा शहादत गरेकालाई उनले अलपत्र पारेको तथ्य जनयुद्धको शहिद परिवारले भुलेको छैन । जनताका छोरा छोरीलाई बुर्जवा शिक्षा भन्दै आफ्नो छोरीलाई जेएनयू पढन पठाएको  पनि जनयुद्धका शहिद, बेपत्ता र घाइतेका परिवारले बिर्सिएका छैनन् । बाबुराम माक्र्सको विचार पनि सकिएको, माक्र्सवाद पनि सकिएको भन्दै माक्र्सेली विचार भन्न थालेका छन् ।

 राजनीतिमा अति दक्षिणपन्थ र जडसूत्रवाद सबैभन्दा हानीकारक हुन्छ भने जस्तै बाबुरामले अंगालेको चिन्तन र चरित्रले नेपाली राजनीतिको भद्दा स्वरुपलाई प्रष्ट पार्दछ । उनले राजनीतिलाई सम्भावनाको खेलको रुपमा अथ्र्याएका छन् । तर पद र शक्तिका लागि जे पनि गर्न पछि नपर्ने उनको चिन्तनले राजनीतिलाई कहाँ पु¥याउन खोजेको हो त्यसको जवाफ उनले नेपाली जनतालाई दिनु पर्ने कि नपर्ने राजनीतिक विश्लेषकहरुको आग्रह छ । जे होस् नयाँ शक्ति बनाउन भनेर हिडेका बाबुराम अन्ततः थाकेर , गलित भएर उपेन्द्रसँग मिसिन आइपुगेका छन् । त्यसले नयाँ सम्भावनाको खोजी गर्ला वा नगर्ला अथवा उपेन्द्रले पनि उनलाई के कति मात्रामा झेल्लान् त्यो भे आगामी दिनमा नै देखिनेछ । 

त्यसो त नयाँ शक्ति बनाउने भन्दै बाबुरामसँगै लागेका देवेन्द्र पराजुली, कल्पना धमलालगायत एक दर्जन बढी पूर्व माओवादीहरु नेकपाका प्रवेश गर्ने तयारी गरेका छन् । बाबुरामले एकलौटी रुपमा उपेन्द्र यादवको पार्टीसँग पार्टी  मिलाएको भन्दै उनीहरु नेकपामा फर्कने तयारीमा लागेको जानकारहरु बताउँछन् । बाबुरामले कही गए पनि गरि खाँदैनन् भन्दै उनीहरु नेकपामा फर्कन लागेको बताइन्छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया