राष्ट्रपति ट्रम्प माथि फेरि उठेयो महाअभियोगको माग

४ बर्ष अगाडि

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्ममाथि फेरि महाअभियोग लगाउने माग उठेको छ । राष्ट्रपति ट्रम्पले महिला सांसदप्रति आक्रमक व्यवहार गरेको भन्दै ट्रम्पमाथि रङ्गको आधारमा विभेद गरेको आरोप लागेको छ ।
ती महिलाहरू पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको भन्दै ट्रम्पले उनीहरूलाई तिनै स्थानमा फर्किन भनेका थिए । राष्ट्रपति ट्रम्पले ती सांसदलाई सभामुख न्यान्सी पेलोसीले निःशुल्क रूपमा यात्राको अवसर जुटाइदिने भन्दै कटाक्ष गरेका थिए।

प्रगतिशील धारका चार महिला सांसदसँग पेलोसीको मतभेद देखा परेको एक हप्तापछि ट्रम्पले सामाजिक सञ्जालबाट त्यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् । ट्रम्पको भनाइको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।

ती सांसदमध्ये एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब र आयान्ना प्रेस्ले अमेरिकामै जन्मे हुर्केका हुन् । अर्की सांसद इल्हान ओमर भने बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन् ।

ट्वीटमा ट्रम्पले ती सांसदको नाम भने उल्लेख गरेका छैनन् । तर केही हप्तायता पेलोसी र उनीहरूबीच सीमासुरक्षासम्बन्धी एउटा विधेयकबारे विवाद उत्पन्न भएको थियो ।

महाभियोगको माग
पेलोसीले ट्वीटबाटै ट्रम्पको धारणा भेदभावपूर्ण भएको टिप्पणी गरेकी छन् । उनले विविधता नै अमेरिकाको बल र एकता नै शक्ति रहेको भन्दै ट्रम्पको आलोचना गरेकी छन् ।
संसद्‌मा मिशिगनको प्रतिनिधित्व गर्ने रासिदा तलाइबले ट्वीट गर्दै ट्रम्पमाथि महाअभियोग लगाइनुपर्ने माग राखेकी छन् ।

नेता बर्नी स्यान्डर्सले पनि ट्रम्प जातिवादी भएको आरोप लगाएका छन्। न्याय र सबैको सम्मानका लागि हामी सबै सँगै उभिनुपर्छ, उनले लेखेका छन् । ट्विटरमा प्रतिक्रिया दिँदै ट्रम्पले डेमोक्र्याटहरूले अमेरिकाबारे नराम्रो कुरा गर्ने मानिसलाई समर्थन गर्नु दुस्खद भएको टिप्पणी गरेका छन् ।

उनीहरूले आफ्ना विरोधीलाई जातिवादी भएको आरोप लगाउने गरेको ट्रम्पले लेखेका छन् । यदि डेम्रोक्याट्रिक पार्टीले त्यस्तो भाषा र गतिविधिको समर्थन गरिराख्छ भने २०२० को निर्वाचनमा भेटौँला ।

राष्ट्रपतिका रूपमा निर्वाचित हुनुभन्दा अघि नै ट्रम्प आप्रवासीहरूप्रति कडा रूपमा प्रस्तुत हुँदै आएका छन् । बीबीसी नेपालीको सहयोगमा । 

४ बर्ष अगाडि

प्रतिक्रिया