साटिएला त नेपालमा रहेका भारतीय नोट, बुधबार यस्तो भयो छलफल

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले प्रतिबन्धित दरका भारु सटहीका लागि छलफल थालेको छ । प्रतिबन्ध लागेको दुई वर्ष पुग्नै लाग्दा राष्ट्र बैंकले  भारु सटहीका लागि छलफल सुरु गरेको हो ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका बेला राष्ट्र बैंकले मंगलबारदेखि भारतीय अधिकारीसँग छलफल थालेको हो । भारु सटहीलगायत अन्य विषयमा छलफल भइरहेको छ । 

भारु सटहीका लागि राष्ट्र बैंकको  विदेशी विनिमय विभागकी कार्यकारी निर्देशक सरिता भट्ट अधिकारीले भारतीय टोलीसँग छलफल गरिरहेकी छन् । भारु साट्न भारत सकारात्मक देखिएको छलफलमा सहभागी एक अधिकारीले बताए ।  बुधबार छलफल हुँदा भारतीय अधिकारी राष्ट्र बैंकमा रहेको भारु साट्न सकारात्मक देखिएका थिए । 

मोदी सरकारले ठूला भारु नोटमा प्रतिबन्ध लगाएपछि केही समय सटहीका विषयका कुरा उठाए पनि पछिल्लो समय भने सम्बन्धित निकाय प्रयास नै नगरी बसेका थिए । यतिबेला राष्ट्र बैंकले पुनः छलफल सुरु गरेको छ । भारु सटहीमा सकारात्मक भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई समेत जानकारी गराइएको छ ।

यसअघि राष्ट्र बैंकको एक जनाबाट अधिकतम २५ हजार भारु साट्ने मोडालिटी भारतमा पेस गरेको थियो । मोडालिटी स्वीकृत भए १ महिनाभित्र भारु सटही गर्न सकिने दाबी राष्ट्र बैंकले गर्दै आएको थियो । तर, भारतले चासो नदेखाएपछि भारु सटही अन्यौलमा परेको थियो । नेपालको पटक पटकको छलफलबाट प्रतिव्यक्ति ४ हजार ५०० रुपैयाँ साट्न भारत सहमत भयो । तर, सबै भारु भने सटही भएनन् ।

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वको प्रतिनिधि मण्डल भारु सटहीका लागि भारत गएर छलफल पनि गरेको थियो । तर, भारत सहमत नहुँदा ठूला भारु नोट राष्ट्र बंैकको  ढुकुटीमा थन्किएका छन् । अहिले राष्ट्र बैंकको  ढुकुटीमा रु ७ करोड भन्दा बढी भारु छ ।   प्रधानमन्त्री तहबाट कुरा हुँदा पनि भारतले भारु साट्न मानेको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया