विद्यालय समयमा ठूला गाडी चलाउन नपाईने

४ बर्ष अगाडि

जिल्लाको ब्यास नगरपालिका–२ स्थित केही ठाउँमा ठूला गाडी चल्नलाई प्रतिबन्ध लगाइएको छ । विद्यार्थी आवातजावत हुने समयमा ब्यास नगरपालिकाले गणेशमानचोकबाट अमरापुरी हुँदै भादगाउँ जाने बाटोमा ट्रक, ट्र्याक्टर र टिपरलाई प्रतिबन्ध लगाएको हो ।

बिहान ९ः१५ देखि १०ः१५ सम्म र साँझ ३ः३० देखि ४ः३० बजेसम्म ठूला गाडीलाई उक्त ठाउँमा गुड्न रोक लगाइएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए। उक्त समयमा त्यस मार्गमा विद्यार्थीको अत्यधिक चाप रहने र कुनैपनि बेला दुर्घटना हुनसक्ने भएकाले विद्यालय समयमा ठूला गाडीलाई रोक लगाइएको न्यौपानेले बताए ।

उक्त मार्ग हुँदै आदिकवि भानुभक्त क्याम्पस,निर्मल माध्यमिक विद्यालय,जलदेवी माध्यमिक विद्यालय,ब्यास बोर्डिङ स्कूलका विद्यार्थी आवतजावत गर्ने गर्छन् । ती सबै क्याम्पस र विद्यालयमा गरी करिब पाँच हजार विद्यार्थी अध्ययनरत छन् ।

नगरपालिकाले यसअघि वडा नं २ स्थित कालीकामार्ग र डाँङ्ग्रेखोल्सीलाई एकतर्फी बनाएको थियो । जसअनुसार भोर्लेटारचोकदेखि भेटघाटचोकसम्म जाने र न्युरोडको कुमारी बैंकदेखि कालीकामार्ग हुँदै पृथ्वीराजमार्ग आउन मात्र पाइने नियम लागू गरिएको थियो ।

यसैगरी नगरपालिकाले नगरक्षेत्रभित्र विभिन्न स्थानमा सडक यातायात अवरुद्ध हुने गरी विवाह,व्रतबन्ध,भोज जस्ता सामाजिक कार्य गर्न प्रतिबन्ध लगाएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सडक अवरुद्ध हुने गरी त्यस्ता कार्य गर्दा सर्वसाधारणको गुनासो बढिरहेकोले वैकल्पिक मार्ग भएमा नगरपालिकाको स्वीकृित लिन र वैकल्पिक मार्ग नभएमा त्यस्तो कार्य अन्यत्रै गराउन आग्रह गरिएको छ । साथै सडक अवरुद्ध हुनेगरी निर्माण सामग्री नराख्न र नगरपालिकासँग स्वीकृति लिएर निश्चित् अवधिका लागि सडक अवरुद्ध नहुने गरी निर्माण सामग्री व्यवस्थापन गर्न नगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

यसैगरी नगरपालिकाले मङ्सिर १ गतेदेखि नगरक्षेत्रभित्र प्लाष्टिकको झोला प्रयोगमा बन्देज लगाएको छ । प्लाष्टिकका झोला मौज्दात भएमा मङ्सिर महीनाभित्र हटाउन आग्रह गर्दै नगरपालिकाले पुष १ गतेदेखि अनुगमन गरी प्लाष्टिकका झोला जफत गरिने बताएको छ । प्लाष्टिकका झोला प्रयोगमा बन्देज लगाउन नगरपालिकाले वैकल्पिक झोला निर्माण तालीम सञ्चालन गरिरहेको छ ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया