निकुञ्ज घुम्ने आउने पर्यटनको संख्या वृद्धि

४ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या बढेको छ । गत वर्षको चार महिनाको तुलनामा यस वर्ष पर्यटक आगमन वृद्धि भएको हो ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत वर्षको यसै अवधिको भन्दा यस वर्ष २६.८५ प्रतिशतले पर्यटक बढेका हुन् । तथ्याङ्कअनुसार गत वर्षको साउनदेखि कात्तिकसम्म ५४ हजार ६२३ पर्यटकले निकुञ्ज घुमेका थिए । यस वर्ष यो सङ्ख्या १४ हजार ६६९ ले बढेर ६९ हजार २९२ पुगेको छ ।

वृद्धि भएको पर्यटकमध्ये नेपालीको सङ्ख्या बढी छ । गत वर्ष यस अवधिमा नौ हजार ८५५,सार्क मुलुकका पाँच हजार ३३१ र विदेशी ३९ हजार ४३७ जना रहेका थिए । यस वर्ष नेपालीको सङ्ख्या २४ हजार ४३५,सार्क मुलुकका छ हजार ५२७ र विदेशी ३८ हजार ३३० रहेका छन् जसमध्ये नेपालीको सङ्ख्या गत वर्षभन्दा १४ हजार ५८० ले वृद्धि भएको छ ।

विदेशीको सङ्ख्या एक हजार १०७ घटेको छ भने सार्क मुलुकका पर्यटक एक हजार १९६ ले बढेको छ । नेपालीको सङ्ख्या बढे पनि विदेशी पर्यटक भने बढ्न सकेको छैन । गत आर्थिक वर्षमा एक लाख ७८ हजार १०९ पर्यटकले निकुञ्ज घुमेका थिए ।

यसअघि भूकम्प र नाकाबन्दीपछि पर्यटकको सङ्ख्यामा निकै गिरावट आएको घिमिरेले बताउनुभयो । आव २०७१–०७२ मा एक लाख ७८ हजार २५७ पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जको इतिहासमा हालसम्मकै त्यो उच्च सङ्ख्या हो ।

यस वर्षको चार महिनालाई हेर्दा र भ्रमण वर्ष मनाउन लागिएकाले चालू वर्षमा हालसम्मकै उच्च पर्यटक आउने अपेक्षा गरिएको छ । चितवनमा मुख्यरुपमा निकुञ्जभित्र दुर्लभ वन्यजन्तु बाघ,गैँडाजस्ता जनावर हेर्न, राप्ती नदीमा डुङ्गा सयर र थारू संस्कृति हेर्न पर्यटक आउने गर्दछन् ।     
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया