मोबाइल वालेटमा नै विप्रेषण

३ बर्ष अगाडि

विज्ञान तथा प्रविधिमा आएको परिवर्तनले अब विदेशको कमाई सिधै मोबाइलमा पठाउन सहज भएको छ ।  खल्ती मोबाइल वालेटले जापान र कोरियाबाट मोबाइलमा नै विप्रेषण भित्र्याउन थालेको जनाएको छ । 

सिटी एक्स्प्रेस मनी ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान र दक्षिण केरियाको जी मनी ट्रान्सफरमार्फत खल्ती मेबाइल वालेटमा सिधै विप्रेषण भित्र्याउन थालेको हो । 

खल्तीले यी दुई मुलुकबाट मोबाइल खातामा सिधै रकम पठाउन मिल्ने सेवा शुरु गरेपछि नेपालमा रकम प्राप्त गर्ने व्यक्तिले पिन नम्बर र आफ्ने परिचय पत्र लिएर विप्रेषण कम्पनीको एजेन्ट कहाँ रकम झिक्न धाउनुपर्ने झञ्झटसमेत अन्त्य भएको छ । 

जापानमा रहेका नेपालीले सिटी एक्सप्रेस मनी ट्रान्सफरको नजीकैको एजेन्ट कहाँ गएर सिधै नेपालमा आफन्तको खल्ती मेबाइल खातामा सिधै रकम पठाउन सक्नेछन् । उता कोरियाबाट भने रकम पठाउन चाहनेले मेबाइल एपबाटै ट्रान्सफर गर्न सक्ने भएका छन् । त्यहाँ रहेका नेपालीले जी मनीका तीन वटा शाखामा गएर पनि खल्ती वालेटमा रकम पठाउन सक्नेछन् । सिटीको जापानमा टोकियो सिन्जुकु, नागोया, फुकुओका र तेचिगीमा शाखा रहेका छन् । 

यस्तै जी रेमिटका कोरियामा सोललगायत विभिन्न तीन शहरमा शाखा छन् । सिटी एक्स्प्रेसका व्यवसाय विकास प्रबन्धक सागर खनालले विभिन्न मुलुकबाट स्थानीय विप्रेषण कम्पनीसँग सहकार्य गरेर विप्रेषण  भित्र्याइरहकामा जापान र कोरियाबाट भने आफ्नै  कम्पनीबाट खल्तीमार्फत विप्रेषण भित्र्याउन थालेको हो । 

विश्वभर लकडाउनले घरबाहिर निस्कन नसकिरहेको अवस्थामा मोबाइलबाटै खल्तीमा विप्रेषण पठाउन सकिने व्यवस्थाले विदेशमा रहेका नेपालीलाई धेरै सहज भएको उनले जानकारी दिए । 

खल्तीका निर्देशक अमित अग्रवाल जापान र कोरियाबाट डिजिटल माध्यमबाट विप्रेषण ल्याउन थालेपछि रकम पठाउने र प्राप्त गर्ने दुवैलाई निकै सहज हुने बताउँछन् ।  मोबाइलमै नगद प्राप्त हुने र सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले सुरक्षित हुनाका साथै फजुल खर्च हुने सम्भावनासमेत कम हुने बताइन्छ । खल्ती नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । यसका प्रयोगकर्ताको सङ्ख्या १३ लाखभन्दा बढी छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया