साम्राज्ञीको गुनासो ः ‘कलाकारले पाउनु पर्ने सानो सम्मान पनि यहाँ पाइँदैन’

३ बर्ष अगाडि

अभिनेत्री साम्राज्ञी आरएल शाहले आफूले फिल्ममा काम गर्दा भोगेका भोगाईहरु साटेकी छन् । शुक्रवार आफ्नो इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै उनले ५ वर्षको अवधिमा ८ वटा फिल्ममा काम गर्दा आफूले धेरै नराम्रो अनुभव भोगेको बताएकी छन् । काम गरेकामध्ये तीनवटा ब्यानरले आफूलाई गरेको ब्यवहार शब्दमा व्यक्त गर्न नसक्ने उनी बताउँछिन् । 
 
उनले भनेकी छन्, ‘१७ वर्षको उमेरमा मैले फिल्ममा डेब्यू गरेको थिएँ । त्यसबेला धेरैले मलाई फिल्म क्षेत्र सानो छ, कति कुराहरु बाहिर ल्याउनुहुन्न भन्नुहुन्थ्यो । यसो गर्दा काम नपाउने भन्ने कुरा हुने गर्थ्यो । मैले जति पनि ब्यानरसँग काम गरेँ, तीमध्ये धेरैसँग दोहोर्‍याएर काम नगर्नुको कारण उहाँहरुले गर्ने ब्यवहार नै हो । एउटा कलाकारले पाउनु पर्ने सानो सम्मान पनि यहाँ पाइँदैन ।’ 
 
साम्राज्ञीले आफूमाथि कयैन् पटक शोषण भएको पनि बताएकी छन् । तर, आफूले ती सबै कुरा भुलेर मुहारमा हाँसो ल्याएर काम गर्ने गरेको उनी बताउँछिन् । उनी फिल्मको प्रचारमा सोधिने ‘किन घमण्डी भएको ?’ भन्ने प्रश्नबाट पनि आजित भएकी रहेछिन् । उनले छायांकन स्थलमा खानका लागि पानी माग्दा निर्माता र निर्देशकले अपशब्द बोल्ने गरेको तीतो अनुभव पनि सुनाइन् । 
 
उनले अगाडि थप्दै भनेकी छन्, ‘सुटिङ सेटमा खाना र पानीको व्यवस्था उपलब्ध गराउन आग्रह गर्दा कति निर्माता र निर्देशकहरु आक्रमण शैलीमा आउँथे । उनीहरुको व्यहारबाट धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ । किनकि, मलाई कामसँग प्रेम छ । कामको सम्मान गर्नुपर्छ भन्ने मैले बुझेको छु । म आफूले सकेको शतप्रतिशत काम दिने प्रयास गर्छु ।’ 

उनले आफ्नो यो भनाईपछि धेरैले आफूलाई घृणा गर्ने भएपनि यसले आफूलाई फरक नपार्ने बताएकी छन् । आफूलाई नकारात्मक प्रतिक्रिया सुन्ने बानी परिसकेको उनको भनाई छ । उनले अगाडि थपेकी छन्, ‘यी सबै कुरा म विस्तृतमा भन्न चाहन्छु तर लाग्दैन यो सबै कुरा भन्न सक्छु होला । यी सबै कुरा भन्दा मेरो नराम्रो इमेज पनि बन्छ होला । म त्यो कसैको होस् भन्ने चाहन्नँ ।’

 

 

३ बर्ष अगाडि

प्रतिक्रिया