साम्राज्ञीले इंकित गरेका तीन ब्यानर कुन हुन् ?

३ बर्ष अगाडि

अभिनेत्री साम्राज्ञी आरएल शाहले गएको शुक्रवार आफूमाथि निर्माता तथा निर्देशकले फिल्मको सुटिङ सेटमा गरेको नराम्रा व्यवहारको पोल खोलिन् । ५ वर्षको अवधिमा काम गरेका ८ फिल्ममध्ये तीन ब्यानरले आफूमाथि गरेको नराम्रो व्यवहार शब्दमा व्यक्त गर्न नसक्ने उनको भनाई थियो ।

उनले भनेकी थिइन्, ‘फिल्मको सुटिङ सेटमा खाना र पानीको व्यवस्था उपलब्ध गराउन आग्रह गर्दा कति निर्माता निर्देशकहरु आक्रमण शैलीमा आउँथे । उनीहरुको व्यहारबाट धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ । किनकि, मलाई कामसँग प्रेम छ । कामको सम्मान गर्नुपर्छ भन्ने मैले बुझेको छु । म आफूले सकेको शतप्रतिशत काम दिने प्रयास गर्छु ।’ 
 
आफूले काम गरेका तीन ब्यानरमा पुनः नदोहोरिनुको कारण ती ब्यानरका व्यक्तिहरुको गलत व्यवहार रहेको पनि उनले बताएकी थिइन् । आखिर उनले इंकित गरेका तीन ब्यानर कुन हुन् त ? साम्राज्ञीले भिडियोमा आफ्नो भनाई राख्ने क्रममा ब्यानरको नाम खुलाएकी छैनन् । तर, उनले कुन ब्यानरप्रति इंकित गरेकी हुन् भन्ने कुरा फिल्मकर्मीदेखि दर्शकसम्मले बुझिसकेका छन् । 

उनको आक्रोशपूर्ण अभिव्यक्ति काजल फिल्मस्, सुनिल कुमार थापा प्रोडक्सन र आइकोर फिल्मसप्रति लक्षित थियो । काजल फिल्मस्बाट निर्माण भएको फिल्म ‘डिम्स’ बाट साम्राज्ञीले अभिनेत्रीको रुपमा ब्रेक पाएकी थिइन् । यो फिल्मको सुटिङ सेटमा आफूले भोगेका नराम्रा अनुभवहरु उनले हरेक नयाँ फिल्मको प्रचारको क्रममा मिडियासामु व्यक्त गर्ने गरेकी छन् । 
 
साम्राज्ञीले पटक(पटक आफूप्रति इंकित गरेर अभिव्यक्ति दिएपछि निर्माता तथा अभिनेता भुवन केसीले आइतवार फेसबुकमा आक्रोशपूर्ण स्टाटस लेखे । उनले साम्राज्ञीप्रति कटाक्ष गर्दै ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै ‘ड्रिम्स’ को नाम भजाएर अहिलेसम्म खाइरहेको आरोप समेत लगाए । उनको जवाफको प्रतिउत्तर पनि साम्राज्ञीले एक भिडियोमार्फत् फर्कासकेकी छन् । 
 
अभिनेता केसीको जवाफमा साम्राज्ञीले जापानमा भएको फिल्म अवार्डमा आफूमाथि गरेको नराम्रो व्यवहारको समेत पोल खोलिन् । भुवन केसीको व्यवहार सम्झँदा आफूलाई घिनलाग्ने उनको भनाई छ । सामाजिक सञ्जालमा चलेको भुवन र साम्राज्ञीको जुहारीले उनीहरुबीच कुन हदसम्म तिक्तता छ भन्ने छर्लङ्ग हुन्छ । यतिबेला उनीहरुको विवादले फिल्म क्षेत्र गजबले तातेको छ ।

 काजल फिल्मस्पछि उनले काम गरेको दोस्रो ब्यानर हो, सुनिल कुमार थापा प्रोडक्सन । यो ब्यानरबाट निर्मित फिल्म ‘ए मेरो हजुर २’ को सेटमा खाना र पानी माग्दा निर्मातारनिर्देशकले अपशब्द बोलेको भन्दै उनले कयैन् पटक मिडियासँगको अन्तर्वार्तामा पीडा पोखेकी छन् । यद्यपि, यस विषयमा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले कुनै जवाफ फर्काएका छैनन् । 
 
त्यस्तै, फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ निर्माण गरेको ब्यानर आइकोर फिल्मस्को सञ्चालकमध्ये एक निर्देशक रेनशा वान्तवा राईसँग साम्राज्ञीको पानी बाराबार रहेको सबैलाई अवगत छ । उनीहरुबीचको तिक्तता फिल्म रिलिजको समयमा छताछुल्ल भएको थियो । फिल्म रिलिजको समयमा प्रचार छाडेर साम्राज्ञी अवार्डका लागि जापान उडेपछि निर्देशक राई उनीसँग फायर भएकी थिइन् । 
 
काजल फिल्मस्, सुनिल कुमार थापा प्रोडक्सन र आइकोर फिल्मस्बाहेक उनको अन्य ब्यानरका व्यक्तिसँग मनमुटावको खबर बाहिर आएको छैन । बुझिएअनुसार, उनले यी तीन ब्यानरसँग जीवनमा कहिल्यै दोहोर्‍याएर काम नगर्ने प्रण लिएकी छन् । साम्राज्ञीले आफूमाथि भएको नराम्रो व्यवहारको बारेमा बोलेपछि कतिपयले सामाजिक सञ्जालमा उनलाई ढाडस दिएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया