रविन्द्र अधिकारीले कमिसनमा नागीडाँडा विमानस्थल बनाउन लागेको भन्दै माधव नेपाल जंगिएपछि..

५ बर्ष अगाडि

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा अगाडि सारिएको नागीडाँडा विमानस्थल निर्माणका विषयमा पुनः संसय खडा भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणका लागि २५ करोड बजेट समेत विनियोजन गरिसकेको छ । हाल विस्तृत परियोजना प्रतिवेदन तयारीको काम भइरहेको छ ।

विमानस्थल निर्माण गर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकरीसहित टोलीले स्थलगत अनुगमन समेत गरिसकेको छ ।

विमानस्थल आन्तरिक प्रयोजनका लागि निर्माण गर्न लागिएको सरकारको दावी छ ।

तर सत्तारुढ नेकपाका नेता माधवकुमार नेपालले भने कमिसनका लागि नागीडाँडा विमानस्थल निर्माण गर्न लागिएको भन्ने आशयको अभिव्यक्ति दिएपछि विमानस्थल निर्माण हुने कि नहुने भन्नेमा आशंका पैदा भएको छ ।

प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन गराइरहेको र निर्माणको लागि यो वर्षनै २५ करोड रुपैयाँ विनियोजन भएको विमानस्थल विवादमा पर्ने देखिएको छ ।

त्रिभुवन विमानस्थलमा हवाई चाप घटाउन भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले काभ्रेको नागीडाँडामा उक्त विमानस्थल निर्माण गर्ने प्रस्ताव गरेका थिए ।

तर आलोचकहरुले मन्त्री  अधिकारीले पोखरा विमानस्थल सञ्चालन गराउने र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलाई पछाडि सार्ने उद्देश्यका साथ नागीडाँडा विमानस्थलको प्रस्ताव अगाडि सारेको आरोप लगाएका छन् ।

निजगढ विमानस्थल बनाउनमा नै ढिलाई गर्नुपर्ने ध्येय राखिएको भन्दै नेकपाका नेता एवम् पूर्व प्रधानमन्त्री नेपालले समेत गुनासो गरेका थिए ।

काभ्रेमा विमानस्थल बनिसक्दा पोखरा विमानस्थल पनि सञ्चालनमा आउने तर निजगढको भने प्रक्रिया समेत अगाडि नबढ्ने भन्दै आपत्ति जनाइएको छ ।

काभ्रेमा बनाइने विमानस्थल निजी स्वार्थ र कमिशनको चक्करमा आएको भन्दै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले आपत्ति जनाएका थिए । आपत्ति जनाउनेमा पूर्व प्रधानमन्त्री नेपाल समेत थिए । उनले निजगढको विषयमा गलत  धारणा नराख्न आग्रह गरेका थिए । तर नागीडाँडाको विषयमा भने आफू समेत सन्तुस्ट नभएको र त्यसमा केही न केही समस्या रहेको हुन सक्ने बताएका थिए ।

निजगढ विमानस्थल अध्ययन उपसमितिका संयोजक समेत रहेका पूर्वप्रधानमन्त्री नेपाल नागीडाँडामा विमानस्थल बनाउनै नहुने बरु निजगढलाई प्राथमिकतामा राखेर काम गर्नु जरुरी रहेको बताउँछन् ।

उनले आन्तरिक विमानस्थल काभ्रेमा सार्न नहुने भन्दै कसैले कमिसनको चक्करमा बनाउन लागेको हो भने तुरुन्त बन्द गर्नुपर्ने बताएका थिए ।

उनले संसारभर नै अन्तर्राष्ट्रिय सँगै आन्तरिक विमानस्थल समेत हुने भएकाले त्यसलाई अलग थलग गर्न नहुने बताएका थिए ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया