अख्तियार भन्छ चाडबाडले बढायो घुस,  एक सातमा समातिए २० कर्मचारी

५ बर्ष अगाडि


काठमाडौं । गत बुधबार सरकारी वकिल कास्कीबाट रु पाँच लाख घुससहित पक्राउ परे । बिहिबार जिल्ला शिक्षा अधिकारीको हैसियतमा रहेका लालबाबु साह रु ४० हजार सहित पक्राउ परे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो एक सातमा मात्रै देशभरबाट घुस लिएको भन्दै दुई दर्जन बढी कर्मचारीलाई पक्राउ गरेको छ ।  चाडबाडको मौसम सुरु भएपछि सरकारी कर्मचारीले जसरी भएपनि पैसा कमाउने उद्देश्य राखेर सेवाग्राहीसँग घुस लिएको प्रष्टै हुन जान्छ । पछिल्लो दिनमा केही सक्रिय देखिएको अख्तियारले सञ्चालन गरेको स्टिङ अप्रेशनको क्रममा धमाधम सरकारी कर्मचारी पक्राउ परेका छन् ।

उनीहरुको उद्देश्य जसरी पनि पैसा कमाउ र सुख सयल गर भन्ने मनसाय रहेको पाइएको छ । चाडबाडको समयमा नापी मालपोत , यातायात व्यवस्था कार्यालय, अन्य सरकारी कार्यालयमा खुलम्खुल्ला घुस माग्ने, लिने र दिने क्रम बढेको छ । तर एकाध स्थानमा मात्रै अख्तियारले घुस लिदा लिदै केही सरकारी कर्मचारीलाई पक्राउ गरेको छ ।

अख्तियारले घुस लिँदालिँदै सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्तालाई पक्राउ गर्यो । अदालतमा चरम भ्रष्टाचार छ, सरकारी वकिल समेत मिलेका हुन्छन् भन्ने कुराको त्यो एउटा गतिलो प्रमाण थियो ।

आयोगको पोखरास्थित कार्यालयबाट खटिएका कर्मचारीले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई पाँच लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको थियो ।

बुधबार बिहान पौने ९ बजे उच्च सरकारी वकिलको कार्यालयमा कपिलवस्तुका रामकुमार टण्डनले पैसा दिँदै गर्दा उनी पक्राउ परेको अक्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख काशिराज दाहालले बताएका थिए ।  सहन्यायाधिवक्ता थापाले टण्डनका छोरा अनुपमलाई ठगीको मुद्दामा नपक्रिने व्यवस्था मिलाउँछु भन्दै पैसा मागेका थिए ।

चाडबाड लागेपछि घुस माग्ने र लिने प्रचलनको एउटा यो साक्षात् उदाहरण हो । धेरै जसो सरकारी कार्यालय भन्सारका रुपमा परिणत भएका छन् । तर अख्तियारले एकाध कार्यालय भन्दा अरुमा कुनै पनि कारवाही गर्न सकेको छैन ।

दशै मान्नु पर्यो नि भन्दै सरकारी कर्मचारीले घुस मागेको गुनासो नागरिक स्तरबाट व्यापक रुपमा आएको अख्तियारले जनाएको छ ।

नापी र मालपोत कार्यालयमा त घुस बेगर कुनै पनि काम हुन छाडेको छ । पछिल्लो दिनमा त प्रहरी समेत स्वयम् घुस प्रकरणमा तानिएका छन् । बोद्ध प्रहरीका प्रमुख एक लाख ४० हजार घुससहित पक्राउ परे । काँडाघारी र कोटेश्वरका प्रहरी अधिकारी घुस सहित पक्राउ परे ।

चाडबाडमा मिटो खाने, राम्रो लगाउने र धाक धम्की देखाउने उद्देश्यका साथ घुस मागेको भन्ने आयोगको ठहर छ । तर सरकारी कर्मचारीले जनतालाई सेवा गर्ने दायित्व भूलेको भन्दै आयोग समेत चिन्तितः भएको छ । तर चिन्ताले केही नहुने भन्दै जसरी भएपनि भ्रष्टाचार नियन्त्रण र्नुपर्ने आवाज उठेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया