यस कारण ओइरिए तामाकोशीको सेयरमा लगानीकर्ता

५ बर्ष अगाडि


काठमाडौं ।  माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयरमा ६ अर्ब रुपैयाँ बढीको आवेदन परेको छ । तर कम्पनीले भने अपेक्षा गरे भन्दा अझै २ अर्ब कम भएको बताएको छ ।

यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा सोमबार साँझसम्म ६  अर्ब बराबरको आवेदन परेको हो । अन्तिम विवरण भने आज  प्राप्त हुने कम्पनीले जनाएको छ ।

कूल ३ लाख आवेदकले सेयरका लागि आवेदन दिएको कम्पनीले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा बुझाइएका आवेदन फारम तथा आश्वा प्रणालीको समेत अन्तिम विवरण आउन बाँकी भएकाले केही रकम भने बढ्न सक्ने देखिएको छ । कूल पूँजीको १५ प्रतिशत साधारण शेयर कम्पनीले बिक्री गरेको हो ।

 निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता देखिएको हो ।

माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार  सोमबार साँझसम्म ३  लाख बढीले आवेदन दिएको तथ्यांक प्राप्त भएको  छ ।

कम्पनीले १ अर्र्ब  ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको हो । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । प्रवक्ता न्यौपानेले करिब ६ लाख आवेदकले आवेदन दिने अपेक्षा गरिएको भएपनि आश्वा प्रणालीमा सबै लगानीकर्ता परिचित र जानकार नभएका कारण केही कम भएको बताए ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत रहेको छ । कम्पनीले निकट भविष्यमा नै रोल्वालिङ जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ ।

कम्पनीले गत बुधबार मात्रै दोलखावासीलाई बिक्री गरेको साधारण सेयरको बाँडफाँट गरेको थियो ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजना प्रभावित दोलखावासी र सर्वसाधारणलाई शेयर बिक्री गरेपछि सो आयोजनाको सर्वसाधारण समूहको सेयर बिक्री प्रक्रिया सकिएको छ । सो समूहमा १० अर्ब रुपैयाँ बराबरको सेयर बिक्री गरिएको छ ।

निर्माणाधीन माथिल्लो तामाकोशी आगामी आर्थिक वर्षको कात्तिकदेखि व्यावसायिक उत्पादन शुरु गर्ने समयसीमा तय गरिएको छ । चालू आवको पुस मसान्तमा निर्माण सकिने कार्यतालिका बनाइएको भए पनि निर्माण व्यवसायीको कमजोरी, निर्माण सामग्री आयातमा देखिएको समस्यालगायतका कारणले आयोजनाको म्याद पर धकेलिएको हो ।

सरकारी स्वामित्वको कम्पनी रहेको र प्रतिफल पाइने विश्वासका साथ लगानीकर्ता तामाकोशीको सेयरमा लगानीकर्ताको बढ्ता चासो रहेको हो ।आयोजनाको भौतिक प्रगति ९७ प्रतिशत सम्पन्न भएको, नेपालको हालसम्म कै ठूलो परियोजना भएका कारण पनि लगानीकर्ताले बढी व्श्विास गरेको हुन सक्ने बताइन्छ ।

सरकारी स्वामित्वका कम्पनी प्रति आम नागरिकको विश्वास रहेको छ भन्ने पुष्टि भएको प्रवक्ता डा न्यौपानेको भनाइ छ ।  तर तत्कालका लागि भने सो आयोजनाको सेयरमा फाइदा भने देखिदैन । गत आर्थिक वर्षमा सो कम्पनीको प्रतिकित्ता सेयरमा २ रुपैयाँ  घाटा रहेको थियो भने चालु आवमा प्रतिकित्ता सेयरमा २० पैसा घाटा रहेको छ ।

आगामी आवमा सो कम्पनीको सेयरमा नाफा घाटा केही पनि नरहने कम्पनीले नै सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख थियो । आगामी ३ वर्षदेखि मात्रै सो कम्पनीको सेयरमा नाफा हुने देखिएको छ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया