भारतले विस्फोटक पदार्थको निर्यातमा रोक लगाउँदा जलविद्युत आयोजनाको निर्माण रोकियो

१ हप्ता अगाडि

काठमाडौँ - भारतले नयाँ आयात र आयात नवीकरणका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नदिएपछि ३ निर्माणाधीन अवस्थामा रहेका परियोजनाको निर्माण प्रभावित बनेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार पहिलादेखि ल्याइरहेको परियोजनाका लागि भने निर्वाधरुपमा विस्फोटक पदार्थ आयात प्रक्रिया रोकिएको छैन । तर, निर्माण सुरु भएका नयाँ परियोजनाका लागि चाहिने र यसअघिदेखि ल्याइरहेका तर म्याद थप्नुपर्ने परियोजनाका लागि भने अनुमति दिएको छैन । इप्पानका एक प्रतिनिधिका अनुसार ६ महिनादेखि भारतले अनौपचारिकरुपमा विस्फोटक पदार्थ आयातमा झन्झट दिइरहेको छ ।

‘६ महिनादेखि नै जलविद्युत आयोजनाहरूले यो समस्या भोगेका हुन्,’ ती प्रतिनिधिले भने, ‘तर २-३ महिना यतादेखि भने समस्या जटिल बनेको छ ।’ भारतले नयाँ अनुमति र सम्झौता नवीकरण नगर्दा २ दर्जनभन्दा बढी आयोजनाको निर्माण रोकिएको इप्पानले जनाएको छ । यसबाट १ हजार मेगावाट क्षमता बराबरका आयोजना प्रभावित बनेका छन् । भारतीय दूतावासको वाणिज्य शाखामा यो विषयबारे कुरा राख्दा आन्तरिक प्रक्रियाका कारण विस्फोटक पदार्थ उपलब्ध गराउनमा असक्षम भएको बताउने गरेको ऊर्जा उद्यमी बताउँछन् । 

यसबारे छिट्टै निर्णय गरेर नेपाललाई आवश्यक पर्ने विस्फोटक पदार्थ उपलब्ध गराउने दूतावासको वाणिज्य शाखाको आश्वासन छ । जबकि ६ महिनादेखिको समस्या भने जस्ताको त्यस्तै रहेको इप्पान बताउँछ ।विद्युत् विकास विभाग भारतले नेपालका लागि विस्फोटक पदार्थको निर्यात रोकेको बारे अनौचापरिकरुपमा जानकारी आएको बताउँछ । विभागका कर्मचारीले भारतबाट औपचारिक जानकारी नआएपनि विस्फोटक पदार्थको आयात रोकिँदा परियोजनाको निर्माण रोकिएकाबारे जानकार रहेको बताउँछन् । नाम नखोल्ने सर्तमा उनले भने, ‘भारतबाट विस्फोटक पदार्थको आयात रोकिँदा दर्जनौँ परियोजनाको काम रोकिएकोबारे विभाग जानकार छ ।’

१ हप्ता अगाडि

प्रतिक्रिया