काठमाडौँ- २३ औँ भारत रंग महोत्सवमा नेपाली नाटक ‘क्लेशाः’ छनौट भएको छ । विश्वको प्रतिष्ठित नाट्य महोत्सवमध्ये एक ‘भारत रंग महोत्सव’ मा यसपटक नेपालको एकमात्र नाटक छनौटमा परेको निर्देशक विजया कार्कीले जानकारी दिइन् । ‘करमन कलाको प्रस्तुति नाटक ‘क्लेशाः’ सहभागी हुँदै गरेको खबर बाँड्न पाउँदा हामी अत्यन्तै खुशी छौँ’ निर्देशक कार्कीले थपिन् ।
प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको परिकल्पना तथा निर्देशनको नाटक ‘क्लेशाः’ २३ औँ भारत रंग महोत्सवमा आउँदो फेब्रुअरी १७ र १९ सम्म मञ्चन हुनेछ । सो नाटक महोत्सवमा सन् २०२२ को लागि छानिएको थियो । तर कोभिडका कारण त्यस समय महोत्सव हुन सकेन । महोत्सव अन्तर्गत नेपाली नाटक ‘क्लेशाः’ को नयाँ दिल्ली र रामनगरमा गरी दुई मञ्चन हुनेछ ।
भारतको नाट्य प्रज्ञा प्रतिष्ठानको मातहत रहेको राष्ट्रिय नाट्य विद्यालय ९एनएसडी०ले वार्षिक रूपमा आयोजना गर्ने भारत रंग महोत्सव यसवर्ष फेब्रुअरी १ देखि हुँदैछ । सन् १९९९ बाट सुरु भएको महोत्सवमा यसअघि सुनिल पोखरेल, अनुप बराल, विमल सुवेदी लगायत एनएसडीबाट प्रशिक्षित नेपाली रंगकर्मीहरुलगायत अन्य रङ्गकर्मीहरूले धेरैपटक सहभागिता जनाइसकेको छ ।
फेब्रअरी १ देखि २६ सम्म हुने महोत्सवमा यसवर्ष भारतको ५९ वटा नाटक, रुसको एक नाटक र २ लोकनाटक छनोट भएको छ । २०२२ का लागि छानिएको नाटकमध्ये समावेश केही नाटकमा ‘क्लेशाः’ परेको हो ।
केही वर्षअघि नेपालमा नियमित मञ्चन भएको यस नाटक भारत रंग महोत्सवका लागि प्रस्थान गर्नुअघि नेपालमा विशेष मञ्चन समेत हुनेछ । माघ २९ गते साँझ ५ बजे र फागुन १ गते दिउँसो १२ र साँझ ५ बजे नाटक ‘क्लेशाः’को मण्डला थिएटरमा विशेष मञ्चन हुनेछ । २०७६ सालमा २४ मञ्चन भएको यस नाटकको नेपालमा यसपटक विशेष तीन मञ्चन हुनेछ ।
प्रतिक्रिया