काठमाडौं– माओवादी जनयुद्धको इपिसेन्टर रुकुम पश्चिमको सानीभेरीमा जनयुद्ध दिवस भव्यतापूर्वक मनाईंदैछ । जनयुद्ध दिवसको अवसरमा त्यहाँ ‘छैठौ राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन, २०८०’ हुने भएको छ । सानीभेरी गाउँपालिकाले राष्ट्रिय खेलकुद परिषदको सहयोगमा ‘जनयुद्ध दिवस’को अवसरका फागुन १ गते म्याराथनको आयोजना गर्न लागेको बताइएको छ ।
सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा कार्यान्वयन नगर्न आदेश दिए पनि केही स्थानीय सरकारहरुले सर्वाजनिक बिदा समेत घोषणा गरेका छन् । जनयुद्धले नै अहिलेको परिवर्तन सम्भव भएकोले यो दिवसको ऐतिहासिक महत्व रहेको तर्क गर्ने गरिएको छ । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ ताका जनमुक्ति सेना हिँडेको बाटोमा धावकलाई दौडाउन गुरिल्ला म्याराथन गर्दै आएको बताएका छन् । गाउँपालिकाको केन्द्रबाट सुरु भई ‘जनयुद्ध’मा माओवादीले सेनाले विभिन्न तालिम सञ्चालन गरेको मौराखारा लेकसम्म पुग्न गाउँपालिकाले म्याराथनको रुट तोकेको छ । मौराखारा लेक समुन्द्र सतहबाट २ हजार ९ सय मिटरको उचाइमा छ ।
गाउँपालिकाका प्रवक्ता पहलसिं घर्तीमगरका अनुसार प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने भएको छ । पुरुषतर्फ ४८ किलोमिटर र महिलातर्फ ३४ किलोमिटरको दूरी तोकिएको छ । पुरूष म्याराथनतर्फ प्रथमलाई एक लाख, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ४५ हजार, चौथोलाई १५ हजार र उत्कृष्ट १० स्थानभित्र पर्नेलाई तीन हजार रुपैयाँ पुरस्कार तोकिएको छ ।
महिला म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई २० हजार, चौथोलाई १० हजार र माथिल्ला १० भित्र पर्नेलाई तीन हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा मुलुकका विभिन्न भागबाट धावकहरु रुकुमपश्चिम पुग्ने क्रम शुरु भएको छ । धावकहरुलाई माओवादी गुरिल्लाहरुले प्रयोग गरेको पोशाकमा सजाएर दौडाउने गरिएको छ ।
गाउँपालिकाले म्याराथन कार्यक्रम सञ्चालन निर्देशिका, २०७९ को आधारमा म्याराथन गर्दै आएको बताएको छ । यसैबीच रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा समेत दिएको छ । नगरपालिकाले एक सूचना सार्वजनिक गर्दै गणतन्त्रको आधार जनयुद्ध भएकाले दिवसका रुपमा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख छ ।
प्रतिक्रिया