बुधबारदेखि  सूर्य नेपाल वेस्टर्न ओपन

मंगलबार, ०८ फागुन २०८०, १८ : २९

काठमाडौँ - सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि हिमालयन गल्फ क्लब, पोखरामा सुरू हुँदैछ।तीन दिन सम्म चल्ने प्रतियोगिता ५४ होलको हुनेछ। काठमाडौं बाहिर हुने दुई प्रतियोगिता मध्ये एक, सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता रहनेछ। डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई र सुबाश तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेको हुनाले यस प्रतियोगितामा सहभागीता जनाउने छैनन। गत महिना धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर शुक्र भारतीय गल्फ टुरमा सहभागिता जनाउन गएका हुन। पूर्व नम्बर एक एमेच्योर गल्फर सुबाशले प्रोफेसनल गल्फ टुर अफ इण्डियाको क्वालीफाईङ्ग स्कूलमा दोश्रो हुँदै भारतीय गल्फ टुरको २०२४ सिजनको लागि कार्ड प्राप्त गरेका हुन।

यो सिजनको दोस्रो प्रतियोगिता, सूर्य नेपाल एनपीजीए म्याच प्लेका उपाधि विजेता दिनेश प्रजापति सहित पुर्व नम्बर एक खेलाडीहरु भुवन नगरकोटी र रवि खड्का, जयराम श्रेष्ठ, नीरज तामाङ, सञ्जय लामा, धन बहादुर थापा दाबेदार खेलाडी हुन। प्रतियोगितामा नेपाली राष्ट्रिय गल्फ टिमका एमेच्योर खेलाडी सदभाव आचार्य पनि दावेदार मध्येका एक हुन। सदभावले यो सिजनको पहिलो प्रतियोगिता, सुर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका थिए।३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन। एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमश ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन। चौंथो र पाँचौं स्थान प्राप्त गर्न प्रोफेसनल खेलाडीले क्रमशः ५९ हजार र ५० हजार हात पार्ने छन। साथै उत्कृष्ट २१ मा पर्न सफल अन्य गल्फरले नगद हात पार्ने छन।प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ।सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन। जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ।

 

मंगलबार, ०८ फागुन २०८०, १८ : २९

प्रतिक्रिया