बुधबारदेखि सुर्खेतमा दोस्रो कर्णाली चलचित्र कार्यशाला

आइतबार, २० फागुन २०८०, १२ : ३२

काठमाडौँ - दोस्रो कर्णाली चलचित्र कार्यशाला यही फागुन २३ गतेबाट सुर्खेतमा हुने भएको छ । आइबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था केबी इन्टरटेनमेन्ट प्रालिले फागुन २९ गतेसम्म हुने साताव्यापी चलचित्र कार्यशालाको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिएको छ ।

‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर छ । सांस्कृतिक विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं,’ प्रालिका अध्यक्ष भुपेन्द्रकुमार खड्काले भने ।यसअघि २०७९ असारमा पहिलो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमै आयोजना गरिएको थियो । पहिलो कार्यशालामा फिल्मसम्बन्धी आधारभूत कुरा सिकाइएको थियो । यसपटक आधारभूत कोर्स पढेकासहित नयाँ विद्यार्थीलाई ‘एड्भान्स कोर्स’ सिकाइने खड्काले बताए ।

कार्यशालामा चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका अभिनेता भुवन केसीले अभिनयसम्बन्धी मास्टर क्लास दिनेछन् । फिल्म निर्देशक दयाराम दाहालले पनि निर्देशनबारे विशेष क्लास दिने भएका छन् । यस्तै फिल्म लेखक तथा सञ्चारकर्मी डब्बु क्षेत्रीले लेखन र निर्देशनको प्रयोगात्मकसहितको कक्षा लिने भएका छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धी प्रशिक्षण दिनेछिन् भने मेकअप आर्टिस्ट सरिता भारतीले फिल्ममा क्यारेक्टर मेकअपको प्रयोगात्मक प्रशिक्षण दिनेछिन् ।कार्यशालामा सहभागी विद्यार्थीले तीनवटा डकुमेन्ट्री र तीनवटा सर्ट फिल्म पनि निर्माण गर्ने जनाइएको छ । कार्यशालामा कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विद्यार्थी सहभागी हुनेछन् ।

आइतबार, २० फागुन २०८०, १२ : ३२

प्रतिक्रिया