नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

मंगलबार, २२ फागुन २०८०, ११ : २७

काठमाडौँ- त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा मंगलबार नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । खेल बिहान ११ः३० बजे सुरु हुनेछ । 

लिग चरणको खेलपछि अंक तालिकामा नेदरल्यान्ड्स पहिलो र नेपाल दोस्रो हुँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् । नामिबिया भने लिग चरणबाटै बाहिरिएको थियो । अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली पछिल्ला दुई खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलाको फाइनलमा पुग्न सफल भएको थियो ।  आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग २० रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । 

आफ्नो तेस्रो खेलमा भने नेपालले नामिबियामाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको थियो । लिग चरणको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो । नेदरल्यान्ड्स र नामिबियाबिच खेलिएको लिग चरणको अन्तिम खेल भने वर्षाका कारण  सकिएको थियो । अन्तिम खेल वर्षाले बिथोलिएपछि नामिबिया उपाधि होडबाट बाहिरिएको थियो ।  आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने नवौँ आईसीसी टी(२० विश्वकप क्रिकेटको तयारीका क्रममा यो शृंखला खेलिएको हो । 

नेपाल, नेदरल्यान्ड्स र नामिबिया आगामी विश्वकपमा छनोट भएका छन् । आगामी विश्वकपमा नेपाल र नेदरल्यान्ड्स एउटै समूहमा परेका छन् ।
 

मंगलबार, २२ फागुन २०८०, ११ : २७

प्रतिक्रिया