प्रयोगमै छैनन् सेनिटरी प्याड राख्ने मेसिन

मंगलबार, २२ फागुन २०८०, १४ : ५२

काठमाडौँ  - नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्रालाई महिनावारीका समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराउँदै आएको छ ।

जसका लागि सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राको स्वास्थ्य अवस्थामा सुधार ल्याउने लक्ष्यका साथ सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ जारी गरेको छ । उक्त कार्यविधिअनुसार महिनवारी हुने सम्पूर्ण किशोरीहरूलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउन सरकारले पालिकालाई अनुदान रकम दिने गरेको छ । तर, सामुदायिक विद्यालयमा निःशुल्क पाउने सेनिटरी प्याड वितरणलाई प्रविधिमैत्री बनाउने नाममा कालिकोटका स्थानीय तहले आफूखुसी खरिद गरी जडान गरेका भेन्डिङ मेसिन प्रयोगमा नआएको पाइएको हो । सरकारले सामुदायिक विद्यालयका छात्राहरू महिनावारीको समयमा विद्यालय छाड्ने दर बढ्दै जान थालेपछि यसलाई रोक्ने लक्ष्यसहित ल्याएको कार्यक्रममा कालिकोटका स्थानीय तहका जनप्रतिनीधिहरूले आफुखुसी खरिद गरेका भेन्टिङ मेसिन सञ्चालनमा नआई थन्किएका छन् । विद्यालयमा किशोरीहरूको लागि सेनिटरी प्याड मेसिनमार्फत वितरण गर्न भन्दै उपाध्यक्ष र उपप्रमुखले मनपरी ढङ्गले खरिद गरी आर्थिक चलखेल गरेको आरोप उनीहरूमाथि छ । शुभकालिका गाउँपालिका, सान्नि त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिकाले गत आर्थिक वर्ष २०७९र८० मा नीति तथा कार्यक्रममै समावेश गरेर सेनिटरी प्याड वितरणको योजना अगाडि सारेका थिए ।

उक्त योजना मुताविक तीनै पालिकाले सेनिटरी प्याडसँगै लाखौँ रकम खर्चेर भेन्डिङ मेसिन खरिद गरी जडान गरे । सुभकालिकाले पाँच वटा माध्यमिक विद्यालयमा छात्राहरूलाई रिजाउन भन्दै दुई लाख १६ हजारका दरले उक्त मेसिन खरिद गरी जडान गरेको थियो । मेसिन जडान हुँदा छात्राहरू निकै खुसी थिए । तर, त्यो खुसी भने धेरै दिन टिक्न सकेन ।सुभकालिकाले नीति तथा कार्यक्रममा महिला तथा किशोरीहरूको समस्या पहिचान गरी प्याड राख्ने मेसिन जडानको कार्यक्रमलाई विद्यालयस्तरमा कार्यान्वयनतर्फ लगेको शुभकालिका गाउँपालिकाकाले जनाएको थियो ।सोही बमोजिम शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष पार्वती सिंहले छात्रा शैक्षिक सुधार योजनाअन्तर्गत प्रतिगोटा दुई लाख १६ हजारका दरले मेसिन  यसमा प्रयोग हुने कार्ड खरिद गरी जडानसमेत गरिन् । १० लाख ८० हजार लागत परेका पाँच वटा भेन्डिङ मेसिन जडान गरेको दुई महिनापछि अहिले प्रयोगविहीन बनेका छन् ।

यस्तै, खाँडाचक्र नगरपालिकाले सोही मेसिन सुभकालिकाले खरिद गरेको मूल्यभन्दा दोब्बर मूल्य चार लाख ५८ हजारमा खरिद गरेर स्रोतको दुरूपयोग गरेको छ । खाँडाचक्रले प्रति मेसिन चार लाख ५८ हजार  २ सय १५  का दरले सप्लायर्सलाई भुक्तानीसमेत दिइसकेको छ । खाँडाचक्रले पञ्चदेवल माध्यमिक विद्यालयका लागि एउटा मेसिन उक्त रकममा खरिद गरी जडान गरेको थियो । पञ्चदेवलले विधुतलगायतका प्राविधिक समस्याले झन्झट व्यहोर्नु परेपछि प्रयोगमा ल्याउन नसकेको जनाएको छ । यस्तै, सान्नि त्रिवेणी गाउँपालिकाले उक्त मेसिन र प्याड निकाल्न प्रयोग हुने कार्ड दुई लाख ३५ हजारका दरले खरिद गरेको छ । सान्निले सात वटा मेसिनवापतको १४ लाख १० हजार रूपैयाँ सप्लायर्सलाई भुक्तानी दिएको छ । यो पालिकाले पनि खरीद गरेर जडान गरेका कुनै पनि भेन्डिङ मेसिन अहिले प्रयोगमा छैनन् । तीनै पालिकाले कोटेशन गरी कालिकोटकै स्थानीय फर्म रेड ईन्टरनेश्नलमार्फत मेसिन खरिद गरी विद्यालयमा जडान गरेका थिए । एउटै मेसिनको खरिद मूल्यमा दोब्बरले फरक आएपछिको विवादले अहिले यी पालिकामा हङ्गामा मच्चिएको छ । यी पालिकाले आफूखुसी खरिद गरेर विद्यालय, विद्यालयमा थमाएका मेसिनहरू प्रयोगमा आउन नसकेको विद्यालयहरूले जनाएका छन् ।

मंगलबार, २२ फागुन २०८०, १४ : ५२

प्रतिक्रिया