सुन जोख्ने मेसिनसहित पक्राउ परेका व्यापारी नरेश माथि तीन मुद्दामा अनुसन्धान

मंगलबार, २२ फागुन २०८०, १७ : ३२

काठमाडौँ - गत माघ ४ गते राजस्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट व्यापारी नरेश अग्रवाललाई १ करोड ९९ हजार नगद तथा १ हजार ९९४ अमेरिकी डलरसहित नियन्त्रणमा लिएको थियो । 

 विभागले नरेश अग्रवाललाई पक्राउ गर्दा उनीसँगै अन्य तीन जनालाई पनि पक्राउ गरेको थियो । त्यतिबेला उनको घरबाट सुन जोख्ने मेसिनसमेत बरामद भएको थियो । पक्राउ गरेपछि उनलाई हुण्डी कारोबारीका रूपमा अदालतबाट म्याद थप गरिएको थियो । पक्राउ पर्दा विभागले उनलाई सुन तस्करीको रकम भुक्तानी गर्ने व्यक्ति भने पनि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर हुँदा भने विदेशी विनिमयको अवैध कारोबारमा संलग्न रहेको भन्दै मुद्दा दायर गरिएको थियो । अग्रवालले स्रोत नखुलेको नगद १ करोड ९९ हजार, अमेरिकी डलर बराबरको २ लाख ६५ हजार ८६० रुपैयाँ तथा दिवस कार्कीलाई दिएको भनिएको २१ लाख ६३ हजार २९० रुपैयाँ गरी कुल १ करोड २५ लाख २८ हजार १५० रुपैयाँको बिगो कायम गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो मुद्दामा काठमाडौँ जिल्ला अदालतले फागुन १५ गते नरेश अग्रवालसँग बिगो रकम बराबर अर्थात् १ करोड २५ लाख २८ हजार १५० रुपैयाँ नै धरौटी लिई छाड्न आदेश दिएको थियो ।

काठमाडौँ जिल्ला अदालतले धरौटी लिई थुनामुक्त गर्न आदेश दिएको भएपनि राजस्व अनुसन्धान विभागले भने अग्रवाललाई छाड्न मानेन । विभागले अग्रवालमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्नुपर्ने भन्दै उनलाई त्यसलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि यस सम्बन्धमा अनुसन्धान गरिरहेको कारण यतिबेला अग्रवाल विभागकै हिरासतमा छन् ।

मंगलबार, २२ फागुन २०८०, १७ : ३२

प्रतिक्रिया