‘नेपाल ओपन इन्टरनेशनल टुर्नामेन्ट–२०२४’ आयोजना हुदैँ

१ महिना अगाडि

काठमाडौँ- नेपालमा पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ । पिकलबल संघ नेपालले यसै महिना ‘नेपाल ओपन इन्टरनेशनल टुर्नामेन्ट–२०२४’ आयोजना गर्न लागेको हो ।

प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा फागुन २५ र २६ गते आयोजना हुनेछ । प्रतियोगितामा नेपालसहित आठ राष्ट्रका खेलाडीको सहभागिता रहने जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सौरभ भण्डारीले दिए ।

प्रतियोगितामा नेपालका अतिरिक्त बेलायत, अमेरिका, भारत, सिंगापुर, थाइल्यान्ड, पोर्चुगल र स्पेनका खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा एक सय २० जना खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा एमेच्योर, इन्टरमिडियट र एडभान्स गरी तीनवटा स्पर्धा समावेश गरिएको छ । यसका अतिरिक्त प्रतियोगितामा १९ वर्षभन्दा माथि, ३५ वर्षभन्दा माथि, ५० वर्षभन्दा माथि र ६० वर्षभन्दा माथिको उमेर समूहमा खेलाडीबिच भिडन्त हुनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी संघका संरक्षक नविन गुरुङले दिए । प्रतियोगिताका लागि सातदोबाटोस्थित टेनिस कोर्टमा १६ वटा पिकलबल कोर्ट तयार पारिएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल सुपर लिग ९एनएसएल० रहेको छ । विश्व खेलकुदमा पुरानो खेल भएपनि नेपालका लागि भने पिकलबल नयाँ खेल हो । त्यसैले नेपालमा आयोजना हुन लागेको पिकलबलको यो नै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । पिकलबल खेलको सुरुआत भने अमेरिकाबाट भएको हो । पिकलबल खेल टेबलटेनिस, टेनिस र ब्याडमिन्टनको मिश्रित स्वरुप हो ।  

१ महिना अगाडि

प्रतिक्रिया