सूर्य नेपाल च्यालेन्जस् एमेच्योर सदभाव शीर्षस्थानमा कायमै

१ महिना अगाडि


काठमाडौं,  एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३\२४ अन्तर्गतको पाँचौं  प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन तीन स्ट्रोकको अग्रता सहित शीषस्थानमा कायमै रहन सफल भएका छन।

रोयल नेपाल गल्फ क्लबमा आज डिफेन्डिङ च्याम्पियन युवा गल्फर सदभावले ४-अन्डर ६४ को उम्दा प्रदर्शन गर्दा समग्रमा ७-अन्डर १ सय ९७ सहित पुर्व नम्बर एक गल्फर रवि खड्कालाई तीन स्ट्रोकले पछि पारे। रविले आज ३-अन्डर ६५ स्कोर दर्ज गरे। उनी समग्रमा ४-अन्डर २०० सहित दोस्रो स्थानमा उक्लिएका छन् । भुवन नगरकोटीले आज दिनकै उत्कृष्ट स्कोर कार्ड तयार पार्ने क्रममा ५-अन्डर ६३ स्कोर गरे। समग्रमा ३-अन्डर २ सय १ सहित तेस्रो स्थानमा उक्लिए। धन बहादुर थापाले आज इभन-पार ६८ मा खेल सकाउँदा समग्रमा २-अन्डर २ सय २ सहित चौथो स्थानमा झरेका छन् । भेट्रान प्रो दीपक मगरले ३(अन्डर ६५ मा तेस्रो दिनको खेल सकाए। उनी समग्रमा इभन-पार २ सय ४ को नतिजामा पाँचौ स्थानमा उक्लिए। समग्रमा २-ओभर २ सय ६ सहित सञ्जय लामा छैटौं स्थानमा छन। उनले आज १-अन्डर ६७ मा खेल सकाएका छन् ।आज ४-अन्डर ६४ को उत्कृष्ट नतिजा सहित समग्रमा ३-ओभर २ सय ७ सहित विष्णु प्रसाद शर्मा सातौं स्थानमा उक्लिए। एमेच्योर टासी छिरिङ र प्रो रामे मगर समग्रमा ४-ओभर २ सय ८ सहित आठौं स्थानमा छन। टासीले आज २-अन्डर ६६ मा खेल सकाए। उनी एमेच्योरतर्फ‌ दोस्रो स्थानमा छन। पहिलो दिनका लिडर रामेले आज ५-ओभर ७३ को खराब प्रदर्शन गरेका छन् ।समग्रमा ५-ओभर २ सय ९ सहित भुवन कुमार रोक्का, जयराम श्रेष्ठ र दिनेश प्रजापतिले १०औं स्थान बाँडे। भुवनले ४-अन्डर ६४, जयरामले ३-ओभर ७१ र दिनेशले ५-ओभर ७३ मा खेल सकाएका छन् ।

उपाधि रक्षा गर्ने दाउमा रहेका सदभावले पहिलो होलमा नै ओबी प्रहार गर्दै सो होलमा बोगी खेपे। तर उनले उत्कृष्ट पुनरागमन गरे। दोस्रो होलमा बर्डी र ५-पारको चौथो होलमा इगलको सफलता प्राप्त गरे। यसपछि पाँचौं होलमा एक सट खेर फाले भने सातौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि १३औं होलको बोगीका विरूद्ध १०औं, १५औं र १८औं होलमा बर्डीको‌ सफलता सहित सदभावले ब्याक नाइन २-अन्डर ३२ मा नै पुरा गरे। अन्तिम १८ होलको खेल बाकी छँदा करियरको तेश्रो उपाधि जित्ने सम्भावनालाई बलियो बनाएका छन। रविले फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन २-अन्डर ३२ मा सकाए। उनले चौथो, १३औं, १४औं र १६औं होलमा चार बर्डी प्रहार गरे भने १२औं होलमा एक सट खेर फाले।भुवनले लोभलाग्दो सुरूवात गर्दै फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए‌। पहिलो, चौथो, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि  १०औं र १७औं होलमा पनि एक-एक सट बचाए भने १८औं होलमा बोगीको सामना गरेका छन् । धनले फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन १-ओभर ३५ मा‌ पुरा गरे। उनले तेस्रो, आठौं र १३औं होलमा बर्डी प्रहार गर्दा चौथौं, १७औं र १८औं होलमा एक-एक सट खेर फाले। चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागीता रहेको छ। कुल ५ लाख ७२ हजार २ सय ५० नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ६७ हजार र ४८ हजार हात पार्नेछन। यसैगरी चौथो हुनेलाई ४० हजार र पाँचौ हुनेलाई ३६ हजार प्रदान गरिनेछ। कट बनाएका २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्ने छन्। 


 

१ महिना अगाडि

प्रतिक्रिया