२९ वर्षमा विमानस्थलको निर्माण

१ महिना अगाडि

काठमाडौँ  - डोल्पा त्रिपुरासुन्दरी–७ का भक्तिलाल बोहोरा उमेरले ६० वर्ष लागे। वृद्ध उमेरका उनलाई एउटै कुराले पिरोलेको छ। आफू तीसवर्षे लक्का जवान हुँदा निर्माण सुरु भएको एयरपोर्टमा जहाज अझै आएको छैन। घरमुनिको ग्राउन्डमा जहाज आएको देख्ने उनको अब एउटै धोको छ। तीन वर्षअघि निर्माण कार्य सम्पन्न भएको एयरपोर्ट अझै जहाज नआएको उनले गुनासो गरे।

 


उनका अनुसार त्यतिबेला जहाज ल्याउन चौर बनाउने लागे रे भन्ने सुनेपछि गाउँमा खुसीको सीमा नै थिएन। कतिपयले त अब एक, दुई वर्षमै जहाज आउँछ होला भनेर आकलनसमेत गर्थे। ‘हामीले आशा गरेको ३० वर्ष बित्न लाग्यो तर जहाज आएन’, उनले भने। ‘जहाजको आशामा ऊ बेलाको कसिलो छाला चाउरी परिसक्यो। कालो कपाल फुलेर सेतै भइसक्यो तर, खुसीको फूल मनमा कहिल्यै फुल्न सकेन’, उनले दुःखेसो पोखे। ‘जीवित हुँदै जहाज आइदिएको भए ३० वर्षअघि देखेको सपना पूरा हुन्थ्यो कि, मरियो भने सपना अधुरै हुने भयो।’ जहाजको पर्खाइमा गाउँका धेरैजसो बूढापाकाहरू बितिसकेको समेत उनले बताए। वडा नं ८ शेरगाउँका कृष्ण केसीलाई पनि त्यस्तै लाग्छ। एयरपोर्ट निर्माण भएको लामो समय बितिसक्दा पनि जहाज नआएको उनले गुनासो गरे। सातामा एउटासम्म भए पनि उडान गर्न माग छ। ‘आफूहरू सानै छँदा एयरपोर्ट बन्न सुरु भएको हो, हामी हुर्किएर पनि ४० कट्न थालियो, एयरपोर्ट बनेपछि न जहाज नै आयो न त जहाज चढ्ने आशा नै पूरा भयो’, उनले दुःखेसो पोखे। ‘यहाँका कतिपय सर्वसाधारणले नजिकबाट जहाजै देख्न पाएका छैनन् ।, जहाज आइदिएको भए वर्षौंदेखिको उनीहरूको सपना पनि पूरा हुने थियो होला।’

 

 

परीक्षण उडान भएर जहाज आएमा बिरामी, सुत्केरी र विद्यार्थीलाई आउजाउ गर्न सजिलो हुने आशा छ। निजी जहाज वा सरकारी जहाज जुन भए पनि सातामा एउटा उडान गर्न पहाडाका सर्वसाधारणले माग गरेका छन्। पर्यटन व्यवसायीहरूले पनि डोल्पामा रहेका दुईवटै विमानस्थल मज्जाले चल्ने बताएका छन्। सोलुखुम्बुमा चार–चारवटा विमानस्थल चलेको बताउँदै डोल्पामा प्रचुर मात्रामा पर्यटकीय सम्भावना भएकाले पनि दुईवटै विमानस्थल चल्ने उनीहरूको भनाइ छ।  डोल्पामा रहेको फोक्सुण्डो ताल, शे–गुम्बा, कान्जिरोवा हिमाल, त्रिपुरासुन्दरी मन्दिर शे–गुम्बा, धो तराप भ्यालीलगायतका प्राकृतिक तथा धार्मिक सम्पदाले लाखौं पर्यटक तान्न सक्ने क्षमता राख्ने युवा पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले बताए। मसिनेचौर विमानस्थल सञ्चालनमा आउनुले डोल्पामात्र नभई नेपालकै पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने भएकाले जतिसक्दो चाँडो परीक्षण उडान गरेर नियमित उडान सुरु गर्नुपर्ने उनको भनाइ छ।
 

१ महिना अगाडि

प्रतिक्रिया