पर्खाल निर्माणको काम एक वर्षदेखि अलपत्र

१ महिना अगाडि


काठमाडौँ - त्रिवेणी र कालीमाटी गाउँपालिका जोड्ने लुहाम–काभ्रा–रामपुर सडक खण्डको त्रिवेणी गाउँपालिका–३ गरिज्युलास्थित शारदा नदी किनारमा पर्खाल निर्माणको काम एक वर्षदेखि अलपत्र परेको छ । सडकको पहिरो नियन्त्रण र बस्तीका घर जोगाउन निर्माण थालिएको पर्खाल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको हो । 

 

तीन वर्षअघि वर्षात्को समयमा शारदा नदीले कटान गर्दा गएको पहिरोले सडकको आधा भाग बगाएपछि बस्ती उच्च जोखिममा परेको थियो । स्थानीयले पर्खाल नलगाउँदासम्म गाडी चल्न नदिने भन्दै विरोध गरेपछि ०७८ चैतमा १ सय ९७ मिटर लम्बाइको पर्खाल निर्माण सुरु गरिएको थियो । पूर्वाधार विकास कार्यालय सल्यानले ठेक्का आह्वान गरेपछि १ करोड ८२ लाखमा सिस्ने कन्स्ट्रक्सनले पर्खाल निर्माण गर्ने जिम्मेवारी पाएको थियो । ०८१ जेठ ३० मा सम्पन्न गर्ने सम्झौता भए पनि १५ प्रतिशत जति काम गरेर एक वर्षदेखि ठेकेदार सम्पर्कविहीन रहेको त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले बताए । ‘अलपत्र काम पूरा गर्न पटकपटक सम्बन्धित निकायमा आग्रह गर्दै आएका छौं । काम अगाडि बढ्न सकेको छैन,’ उनले भने, ‘ठेकेदारले काम नगर्दा पर्खाल निर्माणका लागि जडान गरेका सरिया सबै खिया लागिसकेका, केही बांगिएका छन् ।’ ठेकेदारले काम सुम्पेका ‘पेटी’ ठेकेदारले काम नगर्दा पर्खाल निर्माण अलपत्र परेको पूर्वाधार विकास कार्यालय प्रमुख हरि ओलीले जनाए । ‘भएको काम पनि गतिलो छैन । त्यसलाई फुटालेर फेरि निर्माण गर्नुपर्ने अवस्था देखिएको छ,’ उनले भने, ‘रोकिएको योजनाको पुन काम सुचारु गर्ने या त्यसैबाट अगाडि बढाउने भन्ने विषयमा छलफल भइरहेको छ ।’


 

१ महिना अगाडि

प्रतिक्रिया