ईश्वरी भण्डारीले गँड्यौला पालेरै वार्षिक १० लाख आम्दानी

१ महिना अगाडि

काठमाडौँ - रुपन्देहीका ईश्वरी भण्डारी रोजगारी खोज्दै झण्डै डेढ दशक भारतदेखि खाडी मुलुकसम्म गए । आफ्नो उर्जावान समय त्यहीँ बिताए । जति दुःख गरेपनि राम्रो कमाइ नभएपछि देशमै केही गर्ने सोचले सात वर्षअघि स्वदेश फर्किए ।

 

 

तिलोत्तमा–२ का ईश्वरीले स्वदेश फर्किपछि खुद्रा किराना व्यवसायको सप्लायर्स शुरू गरे । त्यहीँ बेला विश्वव्यापी रुपमा कोरोना भाइरस महामारी आयो । यसले उनलाई आर्थिक रुपमा उठ्नै नसक्ने गरी थला पार्यो । व्यवसायले थलिएका उनले महामारीकै बेला आफैँ कृषि उद्यम गर्नुपर्छ भन्ने सोच बनाए । गुगल सर्च गरे, युट्युमा हेरे, अध्ययन गरे, सीप सिके, तालिम लिए । अनि शुरू गरे गँड्यौला पालेर मल उत्पादन गर्ने कृषि उद्यम । ग्रीन जोन एग्रो फर्म स्थापना गरी उनले शुरू गरेको गँड्यौला उत्पादन र त्यसकोे मल बिक्री गर्न उनलाई अहिले भ्याइ–नभ्याइ छ । चार वर्षअघि शुरू गरेको गँड्यौला व्यवसायबाट उनले वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् । ईश्वरीलाई मल र गँड्यौला किन्न खोज्नेबाट दैनिक दर्जनौं ‘फोन कल’ आउँछ । उनले गँड्यौला प्रतिकेजी एक हजार र त्यसबाट उत्पादित मल प्रतिकेजी ४० रुपैयाँमा अहिले बिक्री गर्दै आइरहेका छन् । गँड्यौला खेती गर्ने देशका औलामा गरिने पात्रमध्ये पर्ने उनी अहिले आफ्नो क्षेत्रमा प्रख्यात छन् । आफू गँड्यौला पालन र बिक्रीमा रमाएको उनी बताउँछन् । अहिले ईश्वरीको सिको गर्दै धेरैले उनकोबाट गँड्यौला लगेर खेती गर्न थोलेका छन् । ‘शुरूमा धेरैको यस प्रकारको मलप्रति खासै रुचि थिएन । यसले गर्दा माग पनि कम थियो,’ उनी भन्छन्, ‘अहिले पुर्याउन नसकेर बाहिरबाट समेत मगाएर बिक्री गर्नुपर्ने अवस्था छ । गँड्यौलाबाट उत्पादित मलमा बोटबिरुवामा चाहिने सबै तत्व पाइने हुँदा थोरै प्रयोग गर्न पनि हुन्छ ।’ गँड्यौलाको मल विश्वव्यापी रुपमा उपयुक्त मल मानिन्छ । नेपालका शहरहरूमा थालिएको कौशीखेती, फूलखेती र नर्सरी, साना किसानहरूलाई रुचाएको उनको भनाइ छ । ‘यसको माग अहिले दिनप्रतिदिन बढ्दो छ,’ उनले भने ।

 

 

रासायनिक मल प्रयोग गर्ने किसानहरू अहिले तरकारी खेतीका लागि नयाँ प्रयोगको रुपमा गँड्यौला मल हाल्न थालेका छन् । ‘बाटोमा हिँड्दा गँड्यौला देख्दा घिनाउने शहरी क्षेत्रका मानिस अहिले घरमै गँड्यौलाबाट तयार मल लिन हौसिएर आउँछन,’ ईश्वरीले खुसी हुँदै भने । अहिले आफूले गँड्यौला प्रतिवर्ष तीन सय केजी र मल तीन हजार केजी बिक्री गर्दै आइरहेको उनी बताउँछन् । उनको फर्ममा अमेरिकन हाइब्रिड आइसोनिया फेटिका नामको गँड्यौला छन् । फेटिका जातको गँड्यौलाले राम्रो मल बनाउने बुझेपछि त्यहीँ ल्याएको उनले बताए । ‘इमेल–इन्टरनेटमा अध्ययन गरेपछि चितवन गएर त्यहाँको गँड्यौला खेती हेरेँ । त्यहीँबाट बीऊ लिएर आएँ,’ ईश्वरी भन्छन्, ‘बीऊ राम्रो परेछ । अब नेपालीहरू रासायनिक मलको प्रयोग घटाउँदै यस्ता जैविक मलप्रति आकर्षित हुनुपर्छ ।’ईश्वरीका अनुसार कार्तिकदेखि फागुन अन्तिमको जाडो मौसम गड्यौलाले फूल पार्ने समय हो । गर्मी लागेपछि अण्डा फुटेर गँड्यौला उत्पादन हुन्छन् । उनले १५ वडा ब्याडबाट एकपटकमा एकसाथ ६–७ किलो गँड्यौलाका बच्चा उत्पादन गर्छन् । उनका अनुसार एउटा ब्याडमा सवा लाख रुपैयाँ लगानी हुन्छ । उनले फर्ममा झण्डै २० लाख रुपैयाँभन्दा बढी लगानी गरेका छन् । एउटा ब्याड तयार गर्दा घामपानीले हानी नगर्ने गरी तीन फिट चौडा र १२ फिट लामो प्लास्टिक ‘टनेल’ले बनाउनुपर्छ । त्यसमा गाई–भैँसीको गोबर र झारपात राखिन्छ । त्यति गरेपछि एक ब्याडमा १२ किलो गँड्यौला छाड्ने गरेको उनले बताए । ‘गँड्यौलाले घामको प्रकाश र उज्यालो रुचाउँदैन । घाम र उज्यालोबाट बचाउन  माथिबाट जुटको बोरा वा परालले ढाक्नुपर्छ । गर्मी मौसममा दिनमा तीनपटक पानी छर्केर चिसो बनाइराख्नुपर्छ । जाडोमा तीन दिनमा एकपटक पानी राख्दा फरक पर्दैन,’ उनले भने । 

 

 

ईश्वरीका अनुसार चिसो नभएसम्म गँड्यौला भित्र पस्दैन । गोबर नखाएसम्म मल बनाउन नसक्ने उनले बताए । मात्रा मिलाएर पानी छर्किन र गड्यौलाभित्र पसे–नपसेको हेर्नुपर्ने हुन्छ ।  ‘शुरूमा नर्सरीमा मल चाहिने भएकाले सिकेँ, उनले भने, ‘पछि माग बढ्न थालेपछि उत्पादन गरेर बिक्री शुरू गरेको हुँ, अहिले त कौशीखेती गर्नेको पहिलो रोजाइमा यो मल परेको छ ।’ हात नगनाउने, फोहोर नहुने, यसमा नाइट्रोजन, फोस्फोरस, सल्फर साथै हरेक माइक्रो न्युट्रियन्ट उपलब्ध हुने भएकाले बिरुवा हुर्कन र फल्न यो मल राम्रो मानिएको ईश्वरीको भनाइ छ । उनले ७५ दिनमा तयार हुने मललाई प्याकेजिङ गरेर बिक्री गर्ने गरेका छन् । ‘बिरुवा लिन आउने हरेक ग्राहकले मल किन्छन्,’ उनी भन्छन्,  ‘गँड्यौला र त्यसबाट बन्ने मलबारे अध्ययन र अवलोकनका लागि पनि उत्तिकै आइरहन्छन् ।’ उनले गँड्यौलासँगै सयपत्री फूल र तरकारी खेती पनि शुरू गरेका छन् । गएको तिहारमा उनले आफैँले उत्पादन गरेका सयपत्री फूल सबैभन्दा बढी बिक्री गर्न सफल भएका थिए । ‘अरू वस्तु पालेजस्तो गँड्यौला पाल्न धेरै दुःख र समस्या पनि छैन । थोरै मेहेनतबाट कमाइ राम्रो गर्न सकिन्छ । धेरैभन्दा धेरै किसानलाई गँड्यौला खेतीतर्फ आकर्षित गरेको पनि छ,’ उनी थप्छन् । गँड्यौलाको प्रयोगबाट माटो खुकुलो हुनुका साथै चिस्यान पनि रहिरहने भएकाले सुख्खा ठाउँका किसानलाई व्यावसायिक खेती गर्न सघाउने पनि जानकारहरू बताउँछन् ।  ईश्वरी मुलुकलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउन सबै जिम्मेवार हुनुपर्ने धारणा राख्छन् । अध्ययन, सीप र दक्षता भएका युवाहरू देशमा केही नभएको भन्दै विदेश जान हतारिएको देख्दा आफूलाई दिक्क लाग्ने गरेको उनको भनाइ छ । ‘अब देश बनाउन पढेलेखेका व्यक्ति र सीप भएका व्यक्तिले स्वदेशमै केही गरेर देखाउनुपर्छ । काम सानो ठूलो भन्ने हुँदैन । मुलुकमा उत्पादन भएको जनशक्तिले स्वदेशमै काम गर्ने वातावरण बनेमात्र मुलुक आत्मनिर्भर र समृद्ध बन्छ,’ ।  दार्शनिक पारामा उनले भने नेपाल कृषिप्रधान देशका रुपमा चिनिन्छ । तर सम्पूर्ण जग्गा जमिन बाझो बन्दै गएकोप्रति ईश्वरी चिन्ता व्यक्त गर्छन् । ‘काम गर्नेहरू  विदेशतिर भौतारिरहेका छन्, अनि कसरी बन्छ मुलुक  उनी प्रश्न गर्छन् । आफ्ना उत्पादनलाई प्रयोगकर्तासम्म पुर्याउन नसक्नु नेपाली उत्पादकर्ताको कमजोरी रहेको उनी स्वीकार्छन् । यसमा सुधार गर्नुपर्नेमा उनको जोड छ ।

१ महिना अगाडि

प्रतिक्रिया