पीएनजीविरुद्ध नेपालको शानदार जित

१ महिना अगाडि

काठमाडौँ- हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा मंगलबार खेलिएको आफ्नो दोस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई ८५ रनले हराएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले १६.१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रनमात्र बनाउन सक्यो । नेपालको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरे । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाए भने चार विकेट पनि लिए । यसका अतिरिक्त सन्दीप जोराले पनि अर्धशतक बनाएका थिए ।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पाली खेलेका थिए । कुशल भुर्तेलले ५९ रन बनाए । सन्दीप जोराले पनि टोलीका लागि ५६ रनको योगदान गरे । अर्का ओपनर विनोद भण्डारीले २७ रन बनाएका थिए । कुशल भुर्तेल र विनोद भण्डारीले ओपनिङ विकेटका लागि ६४ रनको साझेदारी गरे । गुलसन झाले टोलीको खातामा अविजित १५ रन थपे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका उनले १२ बलको सामना गरी एक छक्का पनि हिर्काए । लोकेश बमले १४ रन बटुले । विवेक यादवले पनि अविजित १९ रन बनाए । उनले केवल चार बलको सामना गरी तीन छक्का पनि हिर्काए । कप्तान रोहित पौडेल एक रनमा पेभेलियन फर्किए । आरिफ शेख पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । नेपालले अतिरिक्त रुपमा तीन रन पायो । पीएनजीका बलर असाद भालाले दुई विकेट लिए । नोसाइना पोकाना, जोन कारिको र नरम्यान भानुआले एक–एक विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको पीएनजीलाई लक्ष्यसम्म पुग्न नदिन कुशल भुर्तेलले चार विकेट लिए । उनले चार ओभरमा केवल १३ रन खर्चिए । प्रतिस जिसीले पनि दुई विकेट हात पारे । आकाश चन्द र गुलसन झाले पनि एक–एक विकेट लिए । पीएनजीका लागि हिरी हिरीले सर्वाधिक २८ रन बनाए । ओपनर ब्याट्सम्यान सेसे बउले पनि टोलीको खातामा २१ रन थपे । ओपनर टोनी उरा भने १३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । पीएनजीले अतिरिक्त रुपमा ६ रन पाएको थियो । पीएनजीको पहिलो विकेट नेपाली बलर प्रतिसि जिसीले लिएका थिए । उनले पीएनजीका ओपनर ब्याट्सम्यान टोनी उरालाई १३ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि टोनीले ६ बलमा एक छक्का र एक चौका हिर्काएका थिए । तेस्रो ओभरको अन्तिम बलमा टोनी आउट हुँदा पीएनजीले ३२ रन बनाएको थियो ।

दोस्रो विकेटका रुपमा पीएनजीका तेस्रो नम्बरका ब्याट्सम्यान सेसे बउ पेभेलियन फर्किएका थिए । उनी रन आउट भएका थिए । उनले पेभेलियन फर्किनुअघि २१ रन बनाएका थिए । उनले १३ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनलाई गुलसन झाले रन आउट गराए । ३.२ ओभरमा सेसे आउट हुँदा पीएनजीले ३६ रन बनाएको थियो । पीएनजीको तेस्रो विकेट कुशल भर्तेलले लिएका थिए । कुशल भुर्तेलले पीएनजीका तेस्रो नम्बरका ब्याट्सम्यान असाद भालालाई नौ रनको ब्यक्तिगत स्कोरमा लोकेश बमद्वारा क्याच गराएका थिए । कप्तानसमेत रहेका असाद भालाले पेभेलियन फर्किनुअघि ११ बलमा एक चौका पनि हिर्काएका थिए । ७.५ ओभरमा उनी आउट हुँदा पीएनजीले ६७ रन बनाएको थियो ।

यसैगरी पीएनजीको चोथो विकेट प्रतिस जिसीले लिएका थिए । उनले पीएनजीका चौथो नम्बरका ब्याट्सम्यान हिरी हिरीलाई गुलसन झाद्वारा क्याच गराएका थिए । प्रतिसले लिएको यो दोस्रो विकेट थियो । पेभेलियन फर्किनुअघि हिरी हिरीले २८ रन बनाएका थिए । उनले १९ बलमा दुई छक्का र एक चौका पनि हिर्काएका थिए । ८.२ ओभरमा उनी आउट हुँदा पीएनजीले ७३ रन बनाएको थियो । पीएनजीको पाँचौँ विकेट आकाश चन्दले लिएका थिए । आकाशले पीएनजीका छैटौँ नम्बरका ब्याट्सम्यान चार्लिस अमिनीलाई नौ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि चार्लिसले नौ बलमा एक चौका हिर्काएका थिए । ११औँ ओभरको अन्तिम बलमा चार्लिस आउट हुँदा पीएनजीले ८९ रन बनाएको थियो । त्यसपछि १२औँ ओभरको पहिलो बलमा कुशल भुर्तेलले पीएनजीको छैटौँ विकेट लिएका थिए । उनले पीएनजीका लेगा सियाकालाई पाँच रनको ब्यक्तिगत स्कोरमा लोकेश बमद्वारा क्याच गराएका थिए । कुशलले लिएको यो दोस्रो विकेट थियो । लेगा आउट हुँदा पीएसजीले ८९ रन बनाएको थियो ।

त्यसलगत्तै १२औँ ओभरको दोस्रो बलमा कुशल भुर्तेलले नै पीएनजीका नरम्यान भानुआलाई खाता खोल्नुअघि नै बोल्ड गरेका थिए । कुशल भुर्तेलले लिएको यो तेस्रो विकेट थियो । नरम्यान भानुआ आउट हुँदा पीएनजीले ८९ रन बनाएको थियो । पीएनजीको आठौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका थिए । उनले पीएनजीका किपलिन दोरिगालाई आठ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । कुशलले लिएको यो चौथो विकेट थियो । १४औँ ओभरको अन्तिम बलमा दोरिगा आउट हुँदा पीएनजीले एक सय दुई रन बनाएको थियो ।

पीएनजीको नवौँ विकेट गुलसन झाले लिएका थिए । उनले पीएनजीका नोसाइना पोकानालाई १२ रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । उनले १० बलमा एक छक्का पनि हिर्काएका थिए । १५.४ ओभरमा उनी आउट हुँदा पीएनजीले एक सय १२ रन बनाएको थियो । पीएनजीको अन्तिम विकेटका रुपमा जोन कारिको पेभेलियन फर्किएका थिए । उनी सात बलमा दुई रन बनाउँदै रन आउट भएका थिए । ज्याक गार्डनर भने शून्य रनमा अविजित रहेका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले आफ्नो पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान विनोद भण्डारीलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान विनोद २७ रन बनाउँदै आउट भएका थिए । उनले २२ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए ।

विनोदलाई पीएनजीका बलर कारिकोले नरम्यान भानुआद्वारा क्याच गराएका थिए । त्यसअघि विनोदले अर्का ओपनर कुशल भुर्तेलसँग ६४ रनको साझेदारी गरेका थिए । विनोद ७.३ ओभरमा आउट भएर पेभेलियन फर्किएका थिए । नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । उनी चार बलमा एक रन बनाउँदै आउट भएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रोहितलाई पीएनजीका बलर पोकानाले विकेटकिपर किपलिन दोरिगाद्वारा क्याच गराएका थिए । ८.१ ओभरमा रोहित आउट हुँदा नेपालले ६५ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो । उनी सात बलमा एक चौकाको मद्दतले चार रन बनाउँदै आउट भएका थिए । उनलाई पनि पीएनजीका बलर भालाले विकेटकिपर दोरिगाद्वारा नै क्याच गराएका थिए । ९.३ ओभरमा आरिफ शेख आउट हुँदा नेपालले ७० रन बनाएको थियो । नेपालले चौथो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी ५९ रन बनाएर आउट भएका थिए । उनले केवल ३९ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काएका थिए ।

२७ वर्षीय कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा बनाएको यो आठौँ अर्धशतक हो । उनले टी–२० अन्तर्राष्ट्रियमा एउटा शतक पनि बनाएका छन् । कुशललाई पीएनजीका बलर नरम्यान भानुआले कारिकोद्वारा क्याच गराएका थिए । १४.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले एक सय २० रन बनाएको थियो ।   नेपालले पाँचौँ विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले अर्धशतक बनाएका थिए । उनले ५६ रन बनाएका थिए । सन्दीपले केवल २६ बलको सामना गरी चार छक्का र तीन चौका पनि हिर्काएका थिए ।

२२ वर्षीय सन्दीप जोराले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो अर्धशतक हो । सन्दीपलाई पीएनजीका बलर भालाले लेगा सियाकाद्वारा क्याच गराएका थिए । १७.५ ओभरमा सन्दीप आउट हुँदा नेपालले एक सय ६० रन बनाएको थियो । नेपालले छैटौँ विकेटका रुपमा लोकेश बमलाई गुमाएको थियो । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनी १४ रन बनाउँदै रन आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले ६ बलमा दुई छक्का पनि हिर्काएका थिए । १९औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय ७७ रन बनाएको थियो । यसअघि आइतबार नेपाल र हङकङबिचको पहिलो खेल वर्षाका कारण अनिर्णित रुपमा सकिएको थियो । मंगलबार नै हङकङ र पपुवा न्यु गिनीबिच दोस्रो खेल हुनेछ । हङकङ भ्रमणका क्रममा नेपालले गत शनिबार आयोजक राष्ट्रसँग एउटा टी–२० मैत्रीपूर्ण खेल पनि खेलेको थियो । उक्त खेलमा हङ्कङले नेपाललाई ७३ रनले हराएको थियो ।

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको तयारीका क्रममा विभिन्न राष्ट्रसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ । यसैक्रममा नेपाली टोली हङकङ भ्रमणमा गएको हो । हङकङ भ्रमणबाट फर्किएलगत्तै नेपाली टोली मैत्रीपूर्ण खेलका लागि भारत प्रस्थान गर्नेछ । भारतमा नेपालले गुजरात र बरोडासँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । यो खेलमा पनि विश्वकपकै तयारीका क्रममा खेल्न लागिएको हो । टी–२० विश्वकपको नवौँ संस्करण सन् २०२४ को जुन १ देखि २९ तारिखसम्म आयोजना हुँदैछ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । टी–२० विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले दोस्रो खेल जुन ११ तारिखमा श्रीलंकासँग र तेस्रो खेल जुन १४ तारिखमा दक्षिण अफ्रिकासँग खेल्नेछ । नेपालले समूहगत चरणको चौथो तथा अन्तिम खेल जुन १६ तारिखमा बंगलादेशसँग खेल्नेछ ।

१ महिना अगाडि

प्रतिक्रिया