प्रकृति र संस्कृतिलाई जोड्दै पसगाउँ

बुधबार, ३० फागुन २०८०, १३ : ०६

काठमाडौँ  - समुद्री सतहबाट एक हजार छ सय ५० मिटरको उचाइमा रहेको पसगाउँ को प्राचीन मौलिकतालाई जगेर्ना गर्दै गुरुङ समुदायको कृष्णचरित्र नृत्य, सारंगी नृत्य, झ्याउरे नाच, सती घाटु नाचलगायत लोपोन्मुख संस्कृतिलाई जोगाएर राखिएको छ।


गाउँको प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ पसगाउँमा विसं २०६० देखि घरबास(होमस्टे)सञ्चालन गर्दै आइएको पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष एवं क्होलासोँथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताएका छन् ।पर्यटनको विकासलाई लक्षित गरी प्रकृति र संस्कृतिलाई होमस्टे  मार्फत जोड्ने गरी निरन्तर लागिरहेका छौँ , उनले भने, प्राचीन मौलिकताको जगेर्ना गर्दै पर्यटनको विकास सँगै स्थानीयको आजआर्जन वृद्धि गरी समृद्धि हासिल गर्नु हाम्रो लक्ष्य हो । होमस्टेमा प्रत्येक दिन एक सयसम्म पर्यटक राख्न सकिने होमस्टेका अध्यक्ष गुरुङले बताएका छन् ।  स्थानीय मौलिकतालाई जोगाउनका लागि ढुंगाले छाएका घरलाई संरक्षण गरिएका छन्। यहाँका एक सय ५३ घरधुरी मध्ये अधिकांशका छाना ढुंगाबाटै छाइएका स्थानीय चन्द्रबहादुर गुरुङले बताएका छन् । विगतमा यहाँ भेडापालन राम्रो हुने गरे पनि पछिल्लो समय कृषिप्रतिको अनिच्छासँगै भेडापालनमा कमी आएको छ । पछिल्ला समय युवा जनशक्ति विदेशिने क्रमको असर रमणीय गाउँहरूले भोगि रहेको बताउँदै चन्द्रबहादुरले यसबाट पसगाउँ पनि अछुतो नबनेको उल्लेख गरेका छन् । यहाँको मौलिकता जोगाउनका २०६० सालदेखि होमस्टे एकजुट भएर लागिरहेको बताउँदै ७८ वर्षीय पदमबहादुर गुरुङले गाउँको शिरको क्होम्रेडाँडा, पुछारमा रहेका कलात्मक प्राकृतिक शिला, भ्वाँभ्वाँ बाजा लगायत वस्तुले यहाँको पहिचान बनाएको उल्लेख गरेका छन्।

 

कैलाश पर्वत जस्तै देखिने शिलाका साथै विभिन्न देवीदेवताका आकृतिका शिलाले यहाँको धार्मिक महत्वलाई पनि उजागर गरेको पदमबहादुरले बताएका छन् । गाउँभन्दा तल रहेका प्राकृतिक शिलाको अध्ययन अनुसन्धान आवश्यक रहेको भन्दै यी शिलालाई गाउँको पर्यटनसँग जोड्नु अपरिहार्य रहेको उनले बताएका छन्। शिला रहेको क्षेत्रस्थित सेतो भिरमा प्राचीनकाल देखि लामा बस्ने विश्वास रहेको भन्दै पदमबहादुरले प्रत्येक साउने सङ्क्रान्तिमा लुतो फाल्ने समयमा यस भिरमा बन्दुक पड्काउने प्राचीन विश्वास रहेको उल्लेख गरे। मैले बाल्यावस्थामा साउने सङ्क्रान्तिको दिन साँझ लुतो फल्ने समयमा बन्दुक पड्किएको प्रत्यक्ष अनुभूति गरेको छुु, उनले भने।यहाँ स्थित ठूलो शिलाको फेदमा रहेको देवीको प्राकृतिक मूर्तिलाई स्थानीयले अत्यन्त श्रद्धाविश्वासका साथ पूजाआजा गर्ने गरेको उल्लेख गर्दै पदम बहादुरले पूजा गरेमा मनले चिताएको पुग्ने विश्वास रहेकाले यहाँको धार्मिक महत्व झनै बढेको बताए।यहाँ स्थित ढुंगाको प्वालमा फुकेर भ्वाँभ्वाँ गरी बजाउने प्राकृतिक बाजा पनि अर्को महत्वपूर्ण आकर्षण रहेको स्थानीय पदमबहादुरको भनाइ छ। ढुंगाको प्वालबाट फुक्दा वरपरका गाउँसम्म सुनिने गरी भ्वाँभ्वाँ बज्ने भएकाले यसलाई भ्वाभ्वाँ बाजा भनिएको उनले जानकारी दिए। गाउँमा होमस्टे सञ्चालनमा आएसँगै पोखरालगायत विभिन्न स्थानबाट पर्यटक आउने गरेका पसगाउँ सामुदायिक होमस्टेका पूर्वअध्यक्ष बलराम गुरुङले बताए। गाउँमा कुल एक सय ५३ घरमध्ये अधिकांश गुरुङ समुदायका रहेका बताउँदै उनले हाल २१ घरमा होमस्टे सञ्चालन भइरहेको जानकारी दिएका हुन। प्रकृति र संस्कृतिले सम्पन्न गाउँमा पर्यटक पुग्नका लागि सडक सञ्जाल व्यवस्थित हुनु अपरिहार्य छ ।

बुधबार, ३० फागुन २०८०, १३ : ०६

प्रतिक्रिया