सीटीईभीटीका उपाध्यक्ष, सदस्य–सचिवलगायतलाई कर्मचारीहरूले कार्यकक्ष प्रवेशमा रोक

विहीबार, ०१ चैत्र २०८०, १६ : ४१


काठमाडौँ - सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष, सदस्य–सचिवलगायतलाई कर्मचारीहरूले कार्यकक्ष प्रवेशमा अवरोध गरेका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन सीटीईभीटीको अगुवाइमा लामो समयदेखि कर्मचारीहरू आन्दोलनरत छन् ।

 

उनीहरू विभिन्न माग राखेर धर्ना बस्न थालेको पनि ५० दिन पुरा भएको छ । लामो समय आन्दोलनमा रहे पनि आफूहरूको माग सीटीईभीटी नेतृत्वले नसुनेपछि बिहीबारदेखि कार्यकक्ष प्रवेशमा अवरोध गर्न थालिएको सङ्गठनका सचिव रामकृष्ण पराजुलीले बताए । आन्दोलनरत कर्मचारीहरूले उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारी, सदस्य–सचिव महेश भट्टराई, प्रशासन महाशाखाका निर्देशक नवराज कोइरालालाई कार्यकक्ष प्रवेशमा रोक लगाएका हुन् । विभिन्न पाँच बुँदे माग राख्दै माघ १० गतेदेखि आन्दोलित कर्मचारीहरूले ५० दिनदेखि धर्ना बस्दै आएका छन् ।

 

आन्दोलनरत कर्मचारीहरूले नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिनुपर्नेसहित सङ्गठनले पदपूर्तिको विज्ञापन गर्नुपर्ने, लामो समयसम्म परीक्षा शाखामा कार्यरत कर्मचारीलाई सरुवा गर्नुपर्ने, सेवा करार तथा ज्यालादारी कर्मचारीहरूलाई आर्थिक श्रोतको व्यवस्थापन गरी हालसम्मको महँगी भत्ता बापतको रकम उपलब्ध गराउनु पर्ने, सङ्गठनसँग गएको १८ जेठको सहमति कार्यान्वयन गर्नुपर्ने माग अघि सारेका छन् । सङ्गठनले गत फागुन २७ गते विज्ञप्ति जारी गर्दै चैत १ गतेसम्म पनि माग पूरा नभए उपाध्यक्ष, सदस्य–सचिवलगायतलाई कार्यकक्ष प्रवेशमा अवरोध गर्ने जनाएको थियो । सोहीअनुसार बिहीबारदेखि कार्यकक्ष प्रवेशमा अवरोध गरिएको सङ्गठनका सचिव पराजुलीले बताए ।  नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन सीटीईभिटीले यसअघि व्यवस्थापन समितिसँग भएका सहमति र सम्झौता तथा उच्च अदालत पाटनले गएको भदौ २७ गते जारी गरेको आदेशअनुसार माघ १० गते भित्र पदपूर्ति नभएपछि आन्दोलन गर्नु परेको स्पष्ट पारेको छ ।

विहीबार, ०१ चैत्र २०८०, १६ : ४१

प्रतिक्रिया