महानगरपालिकाले थाल्यो प्राचीन नाम पुनरुत्थान कार्य

शुक्रबार, ०२ चैत्र २०८०, १३ : ०७

काठमाडौं - काठमाडौं महानगरपालिकाले  धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम खोजेर संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्सँग नाम पुष्टि गर्ने काम सुरु गरेको छ । ।

विभिन्न कारणले अर्कै स्वरुपमा पुगेका नामलाई पुनरुत्थान गर्दा रञ्जना लिपि, देवनागरिक लिपि र अङ्ग्रेजी भाषा नाममा पाटी राखिनेछ । “नेवार समुदायका महिलाले प्रयोग गर्ने परम्परागत पोसाक हाकुपटासीमा भएको रातो र कालो रङ्गको पृष्ठभूमिमा ‘नाम पाटी’ (नेम प्लेट) राखिनेछन् । ढुङ्गेधारा, सत्तलका नाममा यही रङ्ग सङ्केतलाई फरक देखिने बनाउने प्रस्ताव गरिएको छ ।” उक्त कार्यको सुरुआत पाँचवटा वडाबाट सुरु भएको छ । वडा नं ५ हाँडीगाउँ (प्राचीन नाम नरः), वडा नं. ६ बौद्ध (प्राचीन नाम खस्योरःरखास्ती), वडा नं ७ चाबहिल (प्राचीन नाम चावहीः), वडा नं १८ नरदेवी (प्राचीन नाम ङेतः) र वडा नं २४ मखन (प्राचीन नाम मखं) को नाम खोजी भइसकेको छ । 

“सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचान मेटिँदै गयो । काठमाडौँको पहिचान जोगाउन यो कार्यक्रम अगाडि बढाइएको हो ।” विभागले एकीकृत सहरी विकास केन्द्र (सिआइयुडी) सँगको सहकार्यमा विभिन्न स्थानको प्राचीन नाम अध्ययन गरेको हो । अध्ययनमा सङ्कलन भएको प्रारम्भिक सूचनालाई लिखित अभिलेख, शिलालेख, सरकारी कागजात (जग्गा नामसारी वा पास गर्दा वा चारकिल्ला प्रमाणित गर्दाको नाम), संस्कृतिविद्, इतिहासविद्, पुरातत्वविद्, स्थानीय पाका मानिस, जनप्रतिनिधि सँग सोधिएको छ ।।


 

शुक्रबार, ०२ चैत्र २०८०, १३ : ०७

प्रतिक्रिया