ललितपुरमा इन्टरनेशनल ट्रेड एक्स्पो हुर्दै

शनिबार, ०३ चैत्र २०८०, १४ : २९

काठमाडौँ  - ‘मेड इन नेपाल’ नारा सहित आगामी चैत अन्तिम साताबाट ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजक पक्षले जनाएको छ ।


ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्सको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहना लगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजक पक्षले जनाएको छ । ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइलैण्ड, टर्की, मलेसिया, चाइनालगायतका देशहरुमा उत्पादित विविध मौलिक उत्पादन र सेवा सम्बन्धी वस्तु तथा सामग्री इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिने आयोजकले बताएको छ । पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहने छ भने मेलाको सहयोगी संस्थाका रूपमा लक्ष्मी सनराइज बैंक र नेपाल हस्तकला महासंघ रहेका छन् ।

एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुको अतिरिक्त दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरू फलदायी हुने अपेक्षा रहेको ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले बताए । सार्क मुलुकमा निर्मित सामग्रीहरूले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले अन्य मुलुकमा प्रभाव जमाएको भन्दै अध्यक्ष शाक्यले मेलामार्फत सहभागी देशहरूको उत्पादनको प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा शाक्यको छ । मेलाको आकर्षणको रूपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरूका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमका साथै जावलाखेल फुटबल ग्राउण्ड परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिए ।यस्तो मेलाले सहभागी मुलुकका व्यवसायीलाई सामीप्यमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको इन्ट्रोडक्सन ट्रेड शोका मेनेजीङ डाइरेक्टर सुमन महर्जनले बताउनुभयो ।मेलामा व्यापार प्रवर्द्धनका लागि अझै पनि केही स्टल बाँकी रहेको भन्दै आयोजक पक्षले नेपाल, भारत, पाकिस्तान र बंगलादेशको कुम्भ मेलामा आफ्नो ब्राण्ड प्रवर्द्धन गर्न र व्यापार गर्न चाहने फर्म तथा कम्पनीलाई पनि आव्हान गरेको छ । 

शनिबार, ०३ चैत्र २०८०, १४ : २९

प्रतिक्रिया