दुप्चेश्वरमा ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना निर्माण हुँदै

१ महिना अगाडि

 काठमाडौं - नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना अघि बढाउन विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गरेको छ ।नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाका मुख्य–मुख्य संरचना गुप्तेश्वर गाउँपालिका वडा नम्बर -१ स्थित खोलाको दायाँ किनारमा रहने छन् ।

आयोजनाले विभागमा पेस गरेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन रिपोर्टमा स्थानीयका तर्फबाट रायसुझाव भए ३५ दिनभित्र पेस गर्न आग्रह गरेको हो ।आयोजनाको प्रवर्द्धक कम्पनी एबीपी इनर्जी प्रालि रहेको छ । कम्पनी सञ्चालक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का महासचिव बलराम खतिवडाले आयोजना निर्माणको अन्तिम स्वीकृतिको पर्खाइमा रहेको बताए । आयोजना निर्माणमा अवरोध नभएमा २०८३ चैत्रभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य  छ ।प्रस्तावित जलविद्युत् आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा कुनै उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा विभाग वा एबीपी इनर्जी प्रालिको कार्यालयमा लिखित प्रतिक्रिया दिन आह्वान गरिएको छ ।

विद्युत् विकास विभागका अनुसार आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयबाट २०७९ फागुन ३० मा स्वीकृत भएको थियो । तादी घ्याङफेदी जलविद्युत् आयोजनाले तादी खोलाको २.२५ घनमिटर प्रति सेकेण्ड पानी र ४४६ मिटर ग्रस हेडको प्रयोग गरी ८ मेगावाट विद्युत् उत्पादन गर्नेछ । आयोजनाबाट वार्षिक ४९.७६ गिगावाट आवर (सुक्खायाममा १६.१७ गिगावाट आवर र वर्षायाममा ३३.५९ गिगावाट आवर) विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।आयोजनाबाट उत्पादित विद्युत् आयोजनाको स्विचयार्डमा जडान गरी ५ किलोमिटर लामो ३३ केभी सिंगल सर्किट प्रसारण लाइनबाट नुवाकोटकै समुन्द्रटारमा रहेको सबस्टेसनमा जडान गरिने छ । आयोजनाका लागि आवश्यक पर्ने पानी फर्काउन तादी खोलामा २२ मिटर लम्बाइ र ४ मिटर उचाइको बाँध निर्माण गरिने छ । १९.६ मिटर लम्बाइ, १६.२ मिटर चौडाइ, २१.७७ मिटर उचाइको विद्युत् गृहमा ४\४ मेगावाट क्षमताका २ वटा टर्बाइन रहने छन् ।

१ महिना अगाडि

प्रतिक्रिया