विश्व पानी दिवसमा थपियो दैनिक ६० लाख लिटर पानी

१ महिना अगाडि

काठमाडौँ -  हेटौंडा बजार क्षेत्रमा खानेपानीको उपलब्धता पर्याप्त बन्दै गएको छ । 

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले शुक्रबारदेखि हेटौंडा बजार क्षेत्रमा वितरणका लागि दैनिक करिब ६० लाख लिटर खानेपानी थपिएको जनाएको छ ।समवेलको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हेटौंडामा खानेपानीको उपलब्धता पर्याप्त भइरहेको बताइन् । उनले आगमी दिनमा पानीको मुहान र रिचार्ज पोखरी मार्फत् थप खानेपानीको स्रोत बढाउँदै लैजाने बताइन् । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टका अनुसार बोर्डको आफ्नै आन्तरिक आयबाट करिब २५ लाख रुपैयाँ लगानीमा उक्त समवेल निर्माण गरिएको हो । उद्घाटन कार्यक्रममा गढी गाउँपालिकाका प्रमुख दोर्जे लामा, हेटौंडाका उपमेयर राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं लगायतको आतिथ्यता रहेको थियो ।

विश्व पानी दिवसको सन्दर्भ पारेर बोर्डले हेटौंडा उपमहानगरपालिका र गढीगाउँपालिकाको संगमस्थल सामरी खोला नजिकै समवेल निर्माण गरी दैनिक ६० लाख लिटर खानेपानी थप गरेको हो । बोर्डले यसअघि हेटौंडामा दैनिक २ करोड ६२ लाख लिटर पानी वितरण गर्दै आएकोमा अब दैनिक ३ करोड २२ लाख लिटर पानी वितरण गर्नेछ । बोर्डले हेटौंडामा २६ हजार नौसय धारा मार्फत् पानी वितरण गरिरहेको छ ।


 

१ महिना अगाडि

प्रतिक्रिया