सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप सुरू हुँदै

आइतबार, ११ चैत्र २०८०, १७ : ४०

काठमाडौँ - सूर्य नेपाल गल्फ टुर २०२३\२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप भोलि (सोमबार)देखि गोकर्ण गल्फ क्लबमा सुरू हुँदैछ। 

चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगिता विहिबार सम्म‌ चल्नेछ। कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गल्फरले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्नेछन। विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन। दोस्रो र तेस्रो हुने गल्फरले क्रमश ९० हजार र ६७ हजार नगद हात पार्नेछन।३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन। एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्ने नियम रहेको छ। कट बनाउन सफल सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन। 

३३ प्रोफेसनल गल्फर मध्ये भुवन नगरकोटी, रबि खड्का, दिनेश प्रजापति, धन थापा र सञ्जय लामाबीच उपाधिको लागि कडा प्रतिस्पर्धा हुने संभावना रहेको छ। प्रो गल्फरहरूलाई यो पटक पनि टप एमेच्योर सदभाव आचार्यले कडा चुनौती दिनेछन। यस्तै राहुल विश्वकर्मा र टासी छिरिङले पनि प्रो गल्फरलाई माथ दिने प्रदर्शन गर्न सक्ने संभावना रहेको छ। नेपाल नम्बर एक प्रो शुक्र बहादुर राईले भने चोटको कारण यो प्रतियोगिता गुमाएका छन। नाडीमा लागेको चोटले गर्दा उनले यो प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन। अर्का प्रो सुबाश तामाङले कोलकाता च्यालेन्जमा कट बनाउन नसकेपछि उनी तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षणका लागी फर्किएका छन। एनपीजीएका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले सूर्य नेपाल टुरमा गल्फको स्तर बढ्दै गएको र यो सिजन प्रो र एमेच्योर खेलाडीहरूको प्रदर्शन उत्साहजनक रहेको बताए। उनले  प्रायोजक सूर्य नेपाल प्रालिलाई निरन्तर सहयोगको लागि धन्यबाद दिए।


 

आइतबार, ११ चैत्र २०८०, १७ : ४०

प्रतिक्रिया