इटहरीमा अवैध संरचना भत्काउन सुरु

१ महिना अगाडि

काठमाडौँ - इटहरी उपमहानगरपालिकाले खोला र कुलो  मिचेर बनाइएको भौतिक संरचना भत्काउन सुरु  गरेको छ ।

 बर्सेनि इटहरीमा बाढीले दुःख दिएको भन्दै अतिक्रमित क्षेत्रमा उपमहानगरले डोजर चलाएको हो । इटहरीस्थित टेङ्ग्रा खोलाको सिरानबाट डोजर चलाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जनाए । क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न मेयर पौडेल डोजर लिएर खोला पैनी पुगेका थिए । ‘बारम्बार सूचना जारी गर्दा पनि नभत्काए पछि उपमहानगर आफैँले भत्काउन सुरु गरेका हौँ,’ मेयर पौडेलले भने । कुनै पनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलको भनाइ छ । टेङ्ग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६-६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवैतर्फ ६-६ मिटर नछोडीकन बनेका भवन संरचना हटाउन सुरु गरेको बताए । वर्षाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ । ठुलो पानी पर्दा त इटहरीमा भयावह स्थिति सिर्जना हुने खतरा रहन्छ । जसले गर्दा हरेक वर्षाको बेला खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने त्रसित हुने गरेका छन् । ‘अब आउँदो वर्षामा इटहरीमा खोलाको तटीय बस्तीमा बस्नेलाई जोगाउन इटहरी उप-महानगरपालिकाले अवैध संरचना हटाउन सुरु गरेको हो,’ मेयर पौडेलले भने । 

इटहरी उपमहानगरपालिकाको ३, ४, ९, १०, ११ र  १२ नम्बर वडा बाढी प्रभावित क्षेत्र हुन् । २०७४ मा आएको बाढीका कारण सो क्षेत्रमा ९ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको बाढीले ४ जनाको मृत्यु भएको थियो । अरू थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षति पुगेको महानगरले जनाएको छ । इटहरीमा २०७४ र २०७८ कात्तिक बाहेक २०४३ सालमा आएको बाढीले टेङ्ग्रा खोलाको सतह पुरी दिएको थियो । त्यसबाट साबिक इटहरी १, ४ र ८ नं. वडाको भू- भागको जमिन कम्तीमा १० फुटसम्म चुवानमा परेको थियो । यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो । त्यति बेला पनि इटहरीमा दुई फुटसम्म जमिन पाङे माटोले पुरेको थियो । वि।सं २०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी परेन । तर, त्यस दिन इटहरीका मानववस्तीमा बाढी प्रवेश गरेको थियो ।२०४० को दशकमा इटहरीको भूगोलमा मानववस्ती पातलो थियो । यहाँको सम्पूर्ण जमिन खेतीमा प्रयोग हुन्थे । जताततै खोला पैनी वा पानी बग्ने निकासका ठाउँहरू खुला थिए । जसले गर्दा सहजै पानी निकास हुने गर्थ्यो । अहिले भने ती ठाउँ बन्द भएका छन् ।

१ महिना अगाडि

प्रतिक्रिया