पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा

४ हप्ता अगाडि

काठमाडौँ- मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको मोटरेबल पुुल अलपत्र बनाउने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरबेनी–जोमसोम–कोरला सडक योजनाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कैकुखोला र लार्जुङखोलाको पुल अलपत्र बनाउने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गरेर दुई वटै पुल बनाउने ठेक्का लिएको गणपति निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ । बीसरबीस मिटरको दुरीका दुईवटै पुल निर्माणको लागि विसं २०७५ मा गणपति निर्माण कम्पनीले बेनी–जोमसोम–कोरला सडक आयोजनासँग ठेक्का सम्झौता गरेको थियो । आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार पटक–पटक ताकेता गर्दासमेत सन्तोषजनक काम गर्न नसकेर पुल अलपत्र बनाएपछि गत असोज अन्तिम हप्ता निर्माण कम्पनीसँगको ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस गरिएको थियो ।

जमानत बसेको बैंकमार्फत धरौटी जफत गरिएको छ । सार्वजनिक खरिद ऐनको व्यवस्था अनुसार बाँकी निर्माण कार्यको लागत पनि सोही ठेकेदार कम्पनीमार्फत असुल उपर गरिने भएको छ । पुरानो ठेक्का तोडेर अलपत्र पुललाई पूर्णता दिन नयाँ ठेक्का प्रक्रिया अघि बढाउने आयोजनाको तयारी छ ।

कैकुखोलामा बीस मिटर लामो मोटरेबल पुल बनाउन रु तीन करोड २५ लाख र लार्जुङ खोलाको पुलको रु तीन करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो । पचास÷पचास प्रतिशत भौतिक प्रगति भएको दुईवटै पुलको पिल्लर ठड्याउने काम सकिएको छ ।

साँघुरो पुलबाट सवारीसाधन आवतजावत गर्ने लार्जुङ खोलामा तीन वर्षयता पुल निर्माणको कुनै पनि काम नभएको स्थानीयवासीले बताएका छन् । कैकु खोलामा बर्खामा बाढी आउँदा सवारीसाधन आवतजावत प्रभावित हुने गरेको छ । त्यहाँ अस्थायी पुलमा जोखिम मोलेर सवारी साधन वारपार गराइन्छ । गत असार महिनायता पुल निर्माणको काम नगरेका ठेकेदार कम्पनीका सञ्चालक सम्पर्कमा नआएपछि ठेक्का तोडिएको हो ।

पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुदैँ मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने २०२ किलोमिटर दुुरीको बेनी–जोमसोम–कोरला सडक योजनामार्फत १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण सकिएका छन् । थप एक वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सात वटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, ब्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

४ हप्ता अगाडि

प्रतिक्रिया