बेगखोलामा लक्ष्यअघि बन्यो मोटर चल्ने पक्की पुल

१ महिना अगाडि

काठमाडौँ-  राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा लक्ष्यअघि मोटर चल्ने पक्की पुल बनेको छ ।

ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र र अधुरा बनिरहेको अवस्थामा सत्तरी मिटर लामो पुल मोटरेवल पुल लक्ष्यअघि सम्पन्न भएको हो । यो पुल निर्माणका लागि २०७८ असार २९ मा बिओकेआइ÷हिमालयन जेभीसँग ठेक्का सम्झौता भएको थियो । यसको लागत आठ करोड ३० लाख थियो । हिमालयन इञ्जिनियरिङका इञ्जिनियर आभास सापकोटाले यो पुलको आगामी असार मसान्तसम्म ठेक्का म्याद रहेको भन्दै पुल अहिले नै तयार भएकाले हस्तान्तरण गर्ने तयारीमा रहेको जानकारी दिए । उनका अनुसार गत असोजदेखि नै उक्त पुलमा सवारीसाधन वारपार गर्न थालेका छन् । अहिले तीन सय ५० मिटर लामो पहुँचमार्ग पनि निर्माण भएको छ । कालोपत्र गरेर आगामी वैशाख १५ भित्र हस्तान्तरण गर्ने तयारीमा रहेको इञ्जिनियर सापकोटाले बताए ।

सडक विभाग, पुल महाशाखाको पश्चिम सेक्टरका इञ्जिनियर आशिक रिजालका अनुसार ११ मिटर चौडाइ भएको उक्त पुल डिजाइन एण्ड बिल्ड (निर्माण व्यवसायीले आफैं डिजाइन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको थियो । डिजाइन तयार पार्न एक वर्ष लागे पनि आर्थिक रूपमा असहज अवस्थाका बाबजुद पर्याप्त निर्माण सामग्री व्यवस्थापन, मजदुर र उपकरण परिचालन गरेर लक्ष्यअघि नै पुल निर्माण सफल भएको सापकोटाले बताए । २०७३ भदौ १७ को बाढीले बेगखोलामा एक जनाको ज्यान जानुका साथै ११ घर, बेलिब्रिज र झोलुंगे पुल बगाएपछि बर्खायाममा बाढी आउँदा यातायातका साधन आवतजावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । रघुगंगा गाउँपालिका–१ का सदस्य बलमान गौचनले पुल बनेपछि बेगखोलामा बाढी आएको अवस्थामा यातायात आवतजावत बन्द हुने र जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या हटेको बताए ।

पुल महाशाखाले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत महभिर र पोखराबगरस्थित कालीगण्डकीमा यसअघि दुई मोटर गुड्ने पुल निर्माण गरेको छ । १९ करोडको लागतमा महभिरमा ८० मिटर र पोखरेबगरमा ७० मिटर लामो पुल निर्माण गरिएका हुन् । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा १३ पक्की पुल र तीन बेलीब्रिज निर्माण गरिएका छन् । ६ ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन् । दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत सेतोखोलामा थप एक मोटर गुड्ने पुल निर्माण सुरु भएको आयोजना प्रमुख धु्रव झाले बताए । उनका अनुसार यो सडकले गण्डकी प्रदेशको पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा छ ।

१ महिना अगाडि

प्रतिक्रिया