नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दै

१ महिना अगाडि

काठमाडौं- नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृङ्खलाको उपाधि गुमाइसकको छ । आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पहिलो खेलमा २१ रनले तथा दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

शुक्रबार पहिलो खेलमा नेपाल ‘ए’ले लोकेश बमले शतकीय पारी खेले पनि नेपाली टोली विजयी हुन भने सकेन् । आयरल्याण्डले २२३ रनको चुनौती दिए पनि नेपालको पारी १९ दशमलव तीन ओभरमा २०१ रनमा समेटियो । नेपालका लागि बमले ५६ बल खेल्दै नौ चौका र आठ छक्काको मद्दतमा एक सय ६ रन बनाएका थिए । यस्तै आशिफ शेखले ४९ रन बनाए ।

आयरल्यान्ड ‘ए’सँगको पहिलो खेलमा बलिङतर्फ भने नेपाल ‘ए’ का कमलसिंह ऐरीले तीन तथा सागर ढकाल र आरिफ शेखले एक एक विकेट लिएका थिए । यस्तै, शनिबार भएको दोस्रो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’सामु जितका लागि दुई सय २५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपाल ‘ए’ले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ८४ रन मात्र बनाउन सक्यो । उक्त खेलमा ब्याटिङतर्फ देव खनालले ४७, बसिर अहमदले २७, बिनोद भण्डारीले २६ र लोकेश बमले २५ रन बनाए । बलिङतर्फ भने सो खेलमा नेपाल ‘ए’का सागर ढकालले तीन तथा कमलसिंह ऐरी र पवन सर्राफले एक एक विकेट लिए । दुवै खेलमा नेपाल ‘ए’ले सुरुआती ब्याटिङ उत्कृष्ट गरेपनि मध्यक्रम र तल्लोक्रम चल्न नसक्दा हार बेहोर्नु परेको हो । मध्यक्रम र तल्लोक्रमका ब्याटरले सम्हालिएर खेल्न नसक्दा आयरल्यान्ड ‘ए’सँगको शृङ्खला नेपाल‘ए’ले गुमाउन पुगेको हो । नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग बुधबारदेखि तीन एकदिवसीय सिरिज खेल्नेछ ।

१ महिना अगाडि

प्रतिक्रिया